उजुरीको पोको खोल्दै सुनुवाइ समिति

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ५, २०७५ | काठमाडौं

संघीय संसदको सुनुवाई समितिले विभिन्न पाँच वटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षविरुद्ध परेका उजुरी आज खोल्ने भएको छ । सिंहदरबारमा विहान साढे ११ बजे बस्ने सुनुवाई समितिको बैठकमा प्राप्त उजुरी खोल्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।

अन्य चार जना विरुद्ध कुनै उजुरी नपरे पनि मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारी विरुद्ध नामे, बेनामे र सामूहिक गरी चार वटा उजुरी परेका छन् । आज उजुरी खोलेर उजुरी कर्तासँगको छलफल मिति तय गर्ने सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

समितिले पाँच वटै आयोगका प्रस्तावित अध्यक्ष विरुद्ध उजुरी दिन १० दिनको समय दिएको थियो । संवैधानिक परिषदको यही गत माघ ६ गते बसेको बैठकले मुस्लिम आयोगमा समिति सहित राष्ट्रिय प्रकृति तथा वित्त आयोगमा बालनन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम सिफारिस गरेको थियो ।

यसैबीच प्रमुख प्रतिपक्षी दलको अनुपस्थितिमा संवैधानिक परिषदको बैठकले संवैधानिक आयोगको अध्यक्षको नाम सिफारिस गरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाउँदै आएको छ । समितिको आजको बैठक पनि बहिस्कार गर्ने समिति सदस्य समेत रहेकी कांग्रेस सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो ।  

 


प्रतिक्रिया