अस्पतालको अवस्था बेहाल : उपसमिति

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ५, २०७५ | दाङ

– दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि गठन भएको संसदीय उपसमितिले आजदेखि अध्ययन शुरु गरेको छ । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको संयोजकत्वमा गठित उपसमितिले आवश्यक अध्ययन, छलफल र अवलोकन गरेको छ । स्थगलत अवलोकनका क्रममा प्रतिष्ठानमा सञ्चालित अस्पतालको अवस्था बेहाल देखिएको उपसमिति संयोजक अधिकारीले बताउनुभयो ।

अस्पताल नचलेको, ईमरजेन्सीको अवस्था बिजोग भएको, पोषण गृह बन्द रहेको जस्ता समस्या देखिएको उहाँले बताउनुभयो । चलिरहेको अस्पतालको अवस्था यसरी नाजुक हुनु दुखद भएको उहाँले बताउनुभयो । कर्मचारीका साना कुरामा नअल्झेर जनतालाई सेवा दिने काममा लाग्न उपसमितिले प्रतिष्ठानलाई सुझाव दिएको अधिकारीले बताउनुभयो ।

आवश्यक पूर्वाधार, उपकरण, चिकित्सक व्यवस्था गरेर तत्काल स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन दिएको उहाँले बताउनुभयो । उपसमितिले आज प्रमुख जिल्ला अधिकारी, नागरिक समाज, स्थानीय तहका प्रमुख, प्रतिष्ठानका पदाधिकारी, कर्मचारी र सरोकारवालाहरुसँग छलफल गरेको छ । प्रतिष्ठानमा कर्मचारी व्यवस्थापन लगायतका समस्या हुँदा यसअघि एक महिनासम्म कर्मचारी आन्दोलित भएका थिए । कर्मचारी आन्दोलित भएकै बेला माघ २३ गते संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान हुने गरी स्थलगत अध्ययन गर्न उपसमिति गठन गरेको थियो ।

संसदीय उपसमितिले अवलोकनपछि कर्मचारीको समस्या मिलाउन निर्देशन दिएपनि मन्त्रालयको निर्देशनमा मात्रै कर्मचारी व्यवस्थापन गर्नसकिने प्रतिष्ठानका रजिष्ट्रार डा. रामप्रसाद प्याकुरेलले बताउनुभयो । प्रतिष्ठानमा साविक उपक्षेत्रिय अस्पताल विकास समितिका ६२ बढी कर्मचारीहरु पेशागत सुरक्षा र तलबभत्ताको माग गर्दै पुस ३० देखि काम रोकेर आन्दोलनमा उत्रिएपछि उपचार सेवा प्रभावित भएको थियो । ११ बुँदे सहमतिपछि माघ २५ देखि कर्मचारी काममा फर्किएका छन् ।

 


प्रतिक्रिया