पुँजी बजारको विषयमा अर्थ समितिको चासो

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ७, २०७५ | काठमाडौं

- प्रतिनिधि सभाको अर्थ समितिले पछिल्लो समय घट्दै गएको पुँजी बजारको विषयमा छलफल गर्न सरोकारवालालाई बोलाएको छ । सिंहदरबारमा विहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री सहित धितोपत्र बोर्ड, नप्से, बैंकर्स संघ, मर्चेन्ड बैंकर्स, ब्रोकर्स संघका प्रतिनिधिलाई बोलाएको समिति सचिवालयले जनाएको छ ।

यस्तै पुँजीबजार क्षेत्रका विज्ञलाई पनि बोलाएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । यस्तै प्रतिनिधि सभाकै शिक्षा तथा स्वास्थ्य समितिले पटक पटक सर्दै आएको १३ औँ दक्षिण एसियाली खेलकुद साग र आठौँ राष्ट्रिय खेलकुदको विषयमा चासो देखाएको छ ।

दुबै खेलकुद प्रतियोगिता पटक–पटक सर्दै आएपछि अबको तयारी बारे समितिले चासो देखाएको हो । सिंहदरबारमा विहान ११ बजे बस्ने बैठकमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र राष्ट्रिय खेलकुद राखेपका सदस्य सचिव केशव कुमार विष्टलाई बोलाएको समिति सचिवालयले जनाएको छ । दुबै खेलकुद प्रतियोगिता कहिले हुने भन्ने अझै अन्योल छ । 

यसैबीच राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन समितिले जग्गा कित्ताकाँटको विषयमा मन्त्रालयले गरिरहेको कामको विषयमा छलफल गर्न विभागीय मन्त्री र सचिवलाई बोलाएको छ । साढे ११ बजे बस्ने बैठकमा मन्त्री पद्मा कुमारी अर्याल र सचिव गोपीनाथ मैनालीलाई बोलाएको संसद सचिवालयले जनाएको छ ।

मन्त्री फेरिएपिच्छे जग्गाको कित्ताकाँट रोक्ने र खोल्ने गरेको भन्दै समितिले ऐन बनाएर काम गर्न सरकारलाई यसअघि नै निर्देशन दिएको थियो । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा निवृत्तभरण कोष सम्वन्धी विधेयकमाथि छलफल हुने सचिवपालयका सहप्रवक्ता अर्यालले जानकारी दिनुभयो । 


प्रतिक्रिया