रक्सौल डिप्पोबाट आयात भएको इन्धनमा पानी र लेदो

फाल्गुन ७, २०७५ | वीरगञ्ज

– सीमावर्ती रक्सौलस्थित भारतीय आयल निगम(आइओसी) बाट नेपाल आयात हुने इन्धनमा पानी र लेदो फेला परेको छ । पेट्रोल पम्प व्यवसायीको गुनासोमा स्थानीय प्रशासनले आज रक्सौल डिप्पोबाट पेट्रोल र डिजेल लोड गरि भित्रिएका ट्यांकर जाँच गर्दा पेट्रोलियम पदार्थसँगै पानी र लेदो भेटिएको हो । नेपालमा प्रयोग हुने कूल इन्धनको करिब ६० प्रतिशत यही नाकाबाट भित्रिने गरेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले नेपाल आयल निगमको वीरगञ्ज कार्यालय अगाडि डिजेल र पेट्रोल बोकेको ट्यांकर जाँच गरेको थियो । आज अपरान्हसम्म रक्सौल डिप्पोबाट डिजेल बोकेका २१ र पेट्रोलका १० ट्यांकर गाडी आएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले नेपालका लागि भारतबाट खरिद गरि ल्याएका पेट्रोलियम पदार्थ बोकेका ट्यांकरबाट पानी र लेदो फेला परेको जानकारी दिनुभयो । परस्पर वार्तापछि थप खुलासा हुने उहाँले बताउनुभयो ।   

इन्धन ढुवानी गर्ने ट्यांकरमा तीन देखि चारवटा चेम्बर हुन्छन् । व्यवसायीका अनुसार एउटा चेम्बरमा झन्डै २० लिटरसम्म पानी र लेदो छ । पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष विनोद चौरसियाका अनुसार विगत एक सातादेखि विभिन्न पेट्रोल पम्पका सञ्चालकले इन्धनमा पानी र लेदोको मिसावट फेला परेको गुनासो गरेका थिए । मिसावटबाट पीडित भएका पर्सा र बाराका पम्पवालाले आज स्थानीय प्रशासनको ध्यानाकर्षण गराएपछि जाँच भएको हो ।

प्रशासनले आयल निगम, खाद्य तथा गुणस्तरका कर्मचारी र पेट्रोलियम डिलर्स एशोसिएशनका पदाधिकारीको रोहबरमा पेट्रोलियम पदार्थको परिक्षण गरेको थियो । नेपाल आयल निगम वीरगन्ज कार्यालय प्रमुख जगदिश चन्द्र यादवले रक्सौल डिप्पोको ट्यांकी सफा भइरहेकाले पाइपमा पानी र लेदो छुटेको हुनसक्ने बताउनुभयो । कार्यालय प्रमुख यादवले आइओसी डिप्पोको ट्यांकी सफाईका कारण पानी र लेदो आएको हुनसक्ने बताएपनि व्यवसायीले आइओसीले बदमाशी गरेको दाबी गर्नुभयो । 

 


प्रतिक्रिया