पत्रकार महासंघको केन्द्रीय साधारण सभा सुरु

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ९, २०७५ | पोखरा

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा पोरामा बिहीबार सुरु भएको छ । साधारण सभामा विधान संशोधन प्रस्ताव समेत हुनेछ । महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुनेगरी विधान संशोधन हुन लागेको हो ।

‘अबदेखि सबै साधारण सदस्यले केन्द्र, प्रदेश र जिल्ला शाखाका पदाधिकारीलाई प्रत्यक्ष मतदान गर्ने गरी विधान संशोधनको प्रस्ताव हुनेछ’ महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले भन्नुभयो, ‘संशोधन प्रस्ताव पारित हुने विश्वास छ । पारित भएमा महासंघको पुनसंरचना पनि हुनेछ ।’ 

साधारण सभाको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुभयो ।

महासंघ अध्यक्ष गोविन्द आचार्यका अनुसार श्रमजीवी पत्रकारको हक अधिकारका लागि सशक्त रुपमा लाग्ने, स्वरोजगार मुलक मिडियाको संरक्षण, प्रेस स्वतन्त्रता विरोधी कानूनको विरोध लगायत विषयमा पनि सभामा छलफल हुने बताउनुभयो । साधारण सभा शुक्रबारसम्म चल्नेछ । बिहीबार उद्घाटन सत्र र शुक्रबार बन्द सत्रको आयोजना गरिएको छ । आचार्यका अनुसार सञ्चार माध्ययमले प्रस्तुत गर्दै आएका समाचार सामाग्रीको आत्मसमीक्षा समेत गरिने छ । 

साधारणसभा सम्पन्न गर्न पत्रकार महासंघ कास्कीले विभिन्न २७ वटा उपसमिति गठन गरेको थियो । करीब १६ सय सभासद मध्ये बिहीबार साँझसम्म एक हजार आइपुगेको स्थानीय आयोजक महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताउनुभयो । 

आन्तरिक पर्यटन वर्ष घोषणा 

साधारणसभा उद्घाटन अवसरमा गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ को घोषणा गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन वर्षको घोषणा गर्दै यस वर्षभर करीब १५ लाख आन्तरिक पर्यटक प्रदेश भित्राउने उद्घोष गर्नुभयो ।   

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी राष्ट्रिय अभियानको रुपमा मनाउने निर्णय गरेको र समृद्धिको मेरुदण्डको रुपमा रहेको पर्यटन विकासका लागि गण्डकी सरकारले राष्ट्रिय लक्ष्यसंग मेल खानेगरी आन्तरिक पर्यटन वर्ष मनाउन लागेको हो । कार्यक्रमले प्रदेशको समग्र पर्यटन विकासमा थप टेवा पुर्‍याउने, जीविकोपार्जन र आय आर्जनका अवसरको वृद्धि गरी दिगो विकासका लक्ष्य प्राप्तिका लागि सहयोग पुर्‍याउने उहाँले बताउनुभयो ।

पर्यटनसंग सम्बन्धित निजी, सरकारी तथा गैरसरकारी क्षेत्रको समन्वय, सहकार्य तथा साझेदारीमा १५ लाख आन्तरिक पर्यटक भित्राउने र त्यसको ५० प्रतिशत पोखरा बाहिरका क्षेत्रमा जाने वातावरण बनाउने योजना सरकारको छ । कार्यक्रमले नयाँ पर्यटकीय गन्तब्यको पहिचान, प्रवर्धन र विकास गर्ने लक्ष्य पनि समेटेको छ । 

प्रदेश सरकार, निजी क्षेत्र र समुदायस्तरबाट विभिन्न काम गर्नेगरी कार्य विभाजन पनि गरिएको छ । पर्यटन वर्षका लागि मुल समिति, कार्यक्रम कार्यान्वयन लगायत अन्य उपसमिति र कार्यदल बनेर क्रियाशिल भइरहेका छन् । 


प्रतिक्रिया