प्रतिवर्ष १ लाख ६३ हजार ६ सय ६४ मेट्रिक टन खाद्यान्न निर्यात

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १०, २०७५ | रूपन्देही

- मुख्य आर्थिक उपार्जन कृषि रहेको प्रदेश ५ बाट बार्षिक डेढ लाख बढी टन खाद्यान्न निर्यात हुने गरेको छ । प्रदेशको भूमि–व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका  अनुसार ४८ लाख २१ हजार २८ जनसंख्या भएको प्रदेशले प्रतिवर्ष १ लाख ६३ हजार ६ सय ६४ मेट्रिक टन खाद्यान्न निर्यात गर्ने गरेको छ ।

प्रदेश धान र तेलहन उत्पादनमा देशमै पहिलो नम्बरमा छ । प्रदेश ५ का १२ जिल्लामध्ये बर्दिया खाद्यान्न उत्पादनमा अब्बल जिल्ला देखिएको छ । जिल्लामा १ लाख ४३ हजार २ सय २८ मेट्रिक टन खाद्यान्न उत्पादन हुँदै आएको छ । दोस्रोमा रूपन्देही रहेको छ । यसले २१ लाख ४ हजार ९ सय मेट्रिक टन उत्पादन गरेको छ । कपिलवस्तुले २५ हजार ५ सय २ र अर्घाखाँचीले २२ हजार २८, गुल्मीले १२ हजार २ सय ९ मेट्रिक टन खाद्यान्न निर्यात गर्दै आएका छन् । दाङले ७ हजार ६५, पाल्पाले ५ हजार ९ सय ४२ र पूर्वी रुकुमले ३ हजार १ सय २१ मेट्रिक टन खाद्यान्न बाहिरी जिल्ला पठाउने गरेका छन् ।

 तर, प्रदेश ५ का १२ जिल्लामध्ये प्यूठान, रोल्पा, बाँके र पश्चिम नवलपरासीले आफ्नो आन्तरिक आवश्यकता धान्ने खाद्यान्न समेत उत्पादन गर्न सकेका छैनन् । मन्त्रालयले उत्पादन भएको खाद्यान्नको अनुपात जनसंख्याको अनुपातमा संयोजन गरी सो तथ्यांक निकालेको हो ।

मन्त्रालयले अहिले खाद्यान्न आयात गर्नुपर्ने जिल्लालाई थप प्राथमिकतामा राखेर आवधिक योजना निर्माणको काम सुरु गरेको योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले बताउनुभयो ।


प्रतिक्रिया