दाफिन्स तिलोत्तमा गोल्डकपको फाइनलमा

फाल्गुन १०, २०७५ | बुटवल

क्यामरुनी टोली दाफिन्स फुटबल क्लब बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ  । दाफिन्सले एन्फा एकेडेमीको खेलमैदान देवीनगरमा आज आयोजक लाली रुपन्देही ११ लाई २ – ० गोलले पछि पार्दै उपाधि नजिक पुगेको हो । घरेलु मैदानमा दर्शकको मीठो साथ र समर्थनका बाबजुद पनि आयोजकले  खेलबाट बाहिरिनु पर्यो । 

दाफिन्सको जितमा दिदर टिना एक्लैले २ गोल गरे । खेलको दोस्रो मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै उनले पहिलो गोल गरेका थिए । रुपन्देहीका विदेशी खेलाडी भुसारी ताजुडेवनोले डिबक्समा ह्याण्ड बल गरेपछि दाफिन्सन पेनाल्टीको अवसर पाएको थियो ।

खेलको ८४ औं मिनेटमा डिडर टिनाले अर्को गोल गरे । रुपन्देहीका खेलाडीले डिबक्समा रहेको बल फर्काउन खोजीरहेका बेला गोलकिपरलाई जिल्याउदै उनले जाली चुमाए । सुरुवातमा बल मैदानको एक राउण्ड नलाउंदै गोल भएपछि दाफिन्स हौसियो भने रुपन्देही हतोत्साहित भयो ।

फलस्वरुप पहिलो हाफमा रुपन्देहीले पहिलो हाफमा राम्रो खेल पस्कन सकेन । दोस्रो हाफमा भने रुपन्देहीले खेलाडीको पोजिसन र टेक्निक बदल्यो । फलस्वरुप शारीरिक रुपमा बलिया र शक्तिशाली खेलाडीका अगाडि टक्करमा खेल पस्क्यो । दोस्रो हाफमा रुपन्देहीले गोल गर्ने एक दर्जन अवसर पायो ।

यद्यपि गोलमा परिणत गर्न सकेन । निरज बस्नेटले ५ पटक फ्रि किकको अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । रुपन्देहीका डिफेन्स मनोज श्रेष्ठ, टिम क्याप्टेन आशिष गुरुड. र गोलकिपर अजीत प्रजापतिले उत्कृष्ठ खेल पस्के । जसले दाफिन्सलाई थप गोल गर्नबाट बचाए । डिबक्समा रुपन्देहीका निरज बस्नेतलाई धक्का दिएपछि यानिक ओवानाले रातो कार्ड पाए । दाफिन्सकै वियीन वियीन र डिडरटिनाले पहेलो कार्ड पाए ।

आजको खेलमा घरेलु टिम रुपन्देहीका निरज बस्नेत म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार र उपहार पाए ।  दोस्रो सेमिफाइनल खेल भोलि नेपाल पुलिस र भ्याली च्यासल फुटबल क्लब बीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।


प्रतिक्रिया