रेड पाण्डाको छाला सहित एक पक्राउ 

फाल्गुन ११, २०७५ | रुकुम पश्चिम

दुर्लभ वन्यजन्तु रातो हाब्रे अर्थात रेड पाण्डाको छाला सहित रुकुम पश्चिमबाट १ जना पक्राउ गरेका छन् । प्रहरीले रेड पाण्डाको ३ वटा छाला सहित बाफिकोट गाउँपालिका–३, कोलचौरका २३ वर्षीय विकास विकलाई पक्राउ गरेको हो ।

शुक्रबार मुसीकोट नगरपालिका–१, गिल्वाङमा ग ५ प ११६५ नम्वरको मोटरसाइकलमा सदरमुकामतर्फ आइरहेको अवस्थामा विक पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो । विकले बोकेको झोला भित्र ३ वटा रेडपाण्डाको छाला बरामद भएको डीएसपी खड्काले बताउनुभयो ।

विशेष सूचनाको आधारमा प्रहरीले विकलाई पक्राउ गरेको हो । प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्ति तथा बरामद रेडपाण्डाको छाला सार्वजनिक गरेको हो । मोटरसाइकल पछाडी बस्ने नामथर र ठेगाना नखुलेका व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण गरेर भिरबाट हामफालेर भागेको डीएसपी खड्काले बताउनुभयो । नियन्त्रणमा लिने क्रममा अभियुक्तले आक्रमण गर्दा प्रहरी हवल्दार थिरबहादुर विष्ट घाइते भएका छन् । विष्टको खुट्टामा गहिरो चोट लागेको छ ।

मोटरसाइकलमा सवार उनको खोजी तथा घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अुनसन्धानपछि रेडपाण्डाको छाला र पक्राउ परेका व्यक्तिलाई जिल्ला वन कार्यालय पठाइने प्रहरीले जनाएको छ । 


प्रतिक्रिया