मदरसा शिक्षा बोर्ड गठन गर्न माग

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १४, २०७५ | वुटवल

- मुस्लिम अगुवा तथा मौलानाहरुले प्रदेश ५ मा मदरसा शिक्षा बोर्ड गठन गर्न माग गरेका छन् । विद्यालय तहको मुस्लिम समुदायको इस्लामिक शिक्षालाई व्यवस्थित गर्न र आधुनिक शिक्षाको मूल प्रवाहसँग जोड्न प्रादेशिक मदरसा बोर्ड गठन हुनुपर्ने उनीहरुको माग छ । 

मौलानाहरुले प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालमार्फत छिटोभन्दा छिटो मदरसा बोर्ड गठन गर्न आग्रह गरेका हुन् । राष्ट्रिय मदरसा संघका महासचिव मौलाना मसुद नेपाली खानले विद्यालय तहको मदरसा शिक्षालाई राष्ट्रिय शिक्षामा जोड्न र सरकार तथा मुस्लिम समुदायबीच पुलको काम गर्न अनिवार्य मदरसा बोर्ड गठन हुनुपर्ने बताउनुभयो । मुस्लिम समुदायका बालबालिकामा शिक्षाको पहुँच पुर्‍याउन र कामकाजी शिक्षा प्रदान गर्न र इस्लामिक धर्म र संस्कृति बचाउन बोर्ड आवश्यक रहेको उहाँले बताउनुभयो । 

   मुस्लिम समुदायको अरबी र उर्दू भाषामा अध्यापन र तालीम दिने शैक्षिक संस्था मदरसा हो । सरकारले विसं २०६८ मा धार्मिक शिक्षालाई राष्ट्रिय शिक्षाको मूलधारमा ल्याउने नीति बनाएपनि अधिकांश मदरसा मूलधारमा जोडिएका छैनन् । मदरसामा अध्ययन गर्नेले मुख्यतया हाफिज, मौलबी, मौलाना, अलिमा र फाजिलजस्ता विषयमा उच्च शिक्षा गर्छन् । प्रदेश ५ मा मात्रै करिब १ हजार मदरसा छन् । त्यसमा मान्यता प्राप्त करिब ५ सय छन् । मान्यताप्राप्त मदरसामा पनि धेरैमा तोकिएका पाठ्यक्रम पढाइ भएका छैनन् । 

 


प्रतिक्रिया