सुनौली नाकामा सुरक्षा व्यवस्था कडा 

फाल्गुन १७, २०७५ | भैरहवा

भारत र पाकिस्तानको सम्बन्ध बिग्रिंदै जान थालेपछि भारतीय सीमा नाका सुनौलीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । खुला सिमानाको कारण मुलुकमा कुनैपनि घुसपैठ र अपराधिक गतिविधि हुन नदिन भारतीय सुरक्षा निकायले सीमा नाका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको हो ।

सीमा क्षेत्रमा भारतबाट परिचालित एसएसबी जनपद प्रहरी, भन्सार, अध्यागमनका कर्मचारी र गुप्तचर लगायत निकायले सिमाना देखि नै सुरक्षा व्यवस्था कडा पारेका हुन् ।

उनीहरुले, सुनौली नाका हुँदै नेपालबाट भारततर्फ जाने हरेक पैदलयात्रु, नीजि सवारी साधन, पर्यटक सहितको बस र नेपालमा अनलोड गरी फर्केका खाली ट्रक तथा मालबाहक सवारी साधनमाथि सुरक्ष जाँच कडा पारेका छन् ।

सुनौली नाकामा परिचालित भारतीय अर्ध सैनिक निकाय एसएसबीका अधिकृत आरएस अहिरले पछिल्ला दिनमा सुरक्षाको विषयलाई लिएर निकै सर्तकताका साथ काम गरिरहेको र सीमा क्षेत्रमा तैनाथ सबै सुरक्षा निकाय मिलेर ‘सघन चेकिंग’ सुरु गरिएको बताउनुभयो ।

उहाँका अनुसार, सुरक्षा सुरक्षा जाँचका लागि आवश्यक जनशक्ति, उपकरण र आवश्यक साधन श्रोत उपलब्ध छन् । 

पहिला सिमानामा ५५ जना एसएसबी परिचालन हुने गरेकोमा अहिले १ सय भन्दा धेरैको परिचालन हुने गरेको अहिरले जानकारी दिनुभयो । हरेक २ सय मिटर दूरीको फरकमा सिमाना हेर्ने गरी सुरक्षाकर्मीको परिचालन गरिएको छ । रातमा यो संख्या बढाउने गरिएको छ ।  


प्रतिक्रिया