अव्यवस्थित विकासले महानगर अस्तव्यस्त

फाल्गुन १८, २०७५ | मोरङ

वैकल्पिक बाटोको वास्ता नगरी यत्रतत्र सडक निर्माण गरिँदा महानगरबासीले हिँड्न समेत सास्ती भोग्नु परेको छ । मोरङको विराटनगर महानगरपालिका कार्यालय जाने तीनपैनी–ट्राफिक चोक सडकमा ढल र नाला निर्माणका लाागि सडक खनिएको छ ।

महानगरको उत्तरतर्फको शनिहटिया चोक जाने दक्षिणतर्फको गोल्छा चोकबाट जिल्ला प्रशासन कार्यालय जाने सडकमा पनि ढल, नाला निर्माणका लागि खनिएको हो । शनिहटिया चोकदेखि कोशी अञ्चल अस्पताल जाने सडक पनि खनिएको छ । महानगरस्थित उत्तर दक्षिण कोशी राजमार्गमा ६ लेन सडक निर्माण काम पनि भइनै रहेको छ ।

महानगरस्थित उत्तर दक्षिण जोड्ने कोशी राजमार्ग, कलेज रोडदेखि पुष्पलाल चोक, रोडशेष चोकदेखि पुष्पलाल चोक र अस्पताल चोकबाट तीनपैनी चोक निस्किने सडक अस्तव्यस्त छन् । महानगरले अहिले मुल बजार क्षेत्रको सबै सडक खनेर ढल र नाला निर्माणको काम सुरु गरेकोले महानगरबासी सास्ती भोग्न बाध्य छन् । 

विराटनगर १४ का अरबिन्द मण्डलले महानगरस्थित मुल बजार क्षेत्रमा पैदल हिँडेर जान पनि अहिले समस्या रहेको गुनासो पोखे । ‘महानगरले एकपछि अर्को सडक बनाउनुको साटो एकै पटक चौतर्फी निर्माण थालेको छ,’ उनले भने, ‘यसरी अव्यवस्थित विकासले महानगरबासीलाई दुःख दिने काम भएको छ ।’ 

स्थानीय विमल खड्काले महानगरले विकास निर्माणको काम गर्नु राम्रो हो तर विकास निर्माणको नाममा जनतालाई दुःख दिनु उचित नभएको बताए । ‘एकै पटक चौतर्फी सडक खनेर पैदल हिँड्न पनि समस्या बनाइदिनुपर्छ ?’ उनले भने, ‘यसलाई महानगरको अव्यवस्थित विकास भन्नै पर्छ ।’

स्थानीय सविता राईले विराटनगरको मुल बजार क्षेत्रमा चौतर्फी एक्जाभेटरले नाला र ढलका लागि खनिएकोले साना नानीहरुलाई लिएर मार्केटिङ्ग गर्न जान सकिने अबस्था नरहेको गुनासो पोखिन् । 

महानगरमा अहिले सघन सहरी विकास परियोजना अन्तर्गत २ अर्ब ६१ करोड १० लाख ९२ हजार २ सय ९४ रुपैयाँ लागतमा सडक, ढल र नाला निर्माणको काम चाइनाका झोङहेङ कन्स्ट्रक्शन ग्रुप बेइजिङले गरिरहेको छ । २०७४ मंसिर ११ गतेबाट निर्माण काम सुरु गरेका निर्माण कम्पनीले २ वर्षभित्र ७४ किलोमिटर सडक, ४६ दशमलव ८३ किलोमिटर ढल र नाला निर्माण गर्ने सम्झौतामा उल्लेख छ । 

निर्माण कम्पनीले हालसम्ममा ४०÷४५ प्रतिशत काम पूरा गरेको सहरी विकास परियोजना समन्वय इकाइका उपव्यवस्थापक प्रकाश नारायण चौधरीले बताउनुभयो ।

फागुन २८ गतेदेखि सहिद रंगशालामा हुने साफ च्याम्पियन महिला फुटबल प्रतियोगितालाई लक्षित गरी महानगरस्थित मुल बजार क्षेत्रमा एक साथ निर्माण काम अघि बढाएको बताउनुभयो । ‘महानगरस्थित जेनियल, इस्टर्न स्टार, रत्ना र बिग होटेलमा खेलाडीहरु बस्ने भएकोले ती होटेलहरुबाट सहिद रंगशालासम्मका सम्पूर्ण सडक निर्माण गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘सडक निर्माणका लागि प्रदेश सरकार र महानगर दुबैको दबाब रहेकोले एक साथ निर्माण गरिरहेका छौं ।’ 

जसरी पनि फागुन २८ भित्र उक्त सडकहरु कालोपत्रे गरिसक्नु पर्ने भएकोले महानगरबासीको सुविधालाई ख्याल नगरी एकसाथ निर्माण काम अघि बढाएको उहाँले स्वीकार्नुभयो । ‘निर्माण काम सुरु गर्नु अघि नै निर्माण कम्पनीले कामको सेडुल कन्सल्ट्यान्टलाई दिन्छ,’ उहाँले भन्नुभयो, ‘उक्त सेड्युल अनुसार कन्सल्ट्यान्टले काम गराइरहेको र हामी समन्वय गरिदिने काम मात्रै गरिरहेका छौं ।’ 

उहाँले फागुन २८ सम्ममा सबै सडक कालोपत्रे हुने कठिन रहेकोले निर्माण कम्पनीले तीब्र गतिमा महानगरबासीको सुविधालाई ख्याल नगरी काम गरिरहेको बताउनुभयो ।

महानगर प्रमुख भीम पराजुलीले एकसाथ भइरहेको विकास निर्माणको कामले महानगरबासीमा पर्न गएको असुविधाका लागि सामाजिक सञ्जालमार्फत क्षमायाचना मागेका छन् । 

 


प्रतिक्रिया