छोरी शिक्षा बीमा प्रदेश भरि लागू

फाल्गुन १९, २०७५ | धनुषा

मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम प्रदेश २ का सबै जिल्लामा सुरु भएको छ । मुख्यमन्त्री लालबाबु राउतले आज धनुषामा पत्रकार सम्मेलन मार्फत गत माघ १ गते देखि लागू हुने गरी प्रदेशका सबै जिल्लामा सो कार्यक्रम सुरु भएको घोषणा गर्नुभयो ।

प्रदेश सरकारले यस कार्यक्रम अन्तर्गत माघ १ गते पछि जन्मिएको बालिकाहरुलाई १ लाख २५ हजार रुपैयाँको बीमा गर्ने छन् । बीमाको लागि प्रदेश सरकारले प्रभु बैंकसंग सम्झौता गरेको जनाएको छ ।

प्रदेश सरकारले नवजात बालिकाको नाममा एक मुष्ट रकम जम्मा गरेपछि २० वर्ष पछि बैंकले बालिकालाई १ लाख २५ हजार रुपैयाँ एकमुष्ट उपलब्ध गराउने छ । तर, शिक्षाको लागि रकमको आवश्यकता परे प्रदेश सरकारको सिफारिसमा बीचमा समेत केही रकम झिक्न पाउने व्यवस्था गरिएको छ । 

बीमाको लागि नवजात छोरीको फोटो, आमा वा बुबाको नागरिकता, जन्म दर्ताको प्रमाणपत्र र वडा सिफारिस आवश्यक छ । छोरी बीमा कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारले स्वयं सेवक समेत परिचालन गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

देश भरि नै चर्चा पाएको बेटी पढाउ बेटी बचाउ कार्यक्रमको लागि संघीय सरकारले समेत ५० करोड रुपैयाँ विशेष अनुदान उपलब्ध गराएको छ । यसअघि प्रदेश सरकारले प्रदेशको ८ जिल्लामा १÷१ वटा गरी ८ स्थानीय तहमा मात्र छोरी शिक्षा बीमा लागू गरेका थिए । 


प्रतिक्रिया