टीकापुर घटनको फैसला : लक्ष्मण थारुसहित १२ जना रिहा हुँदै

फाल्गुन २२, २०७५ |  धनगढी 

टीकापुर हत्या घटनाको मुद्दामा जिल्ला अदालत कैलालीले बुधबार गरेको फैसलापछि १२ जना बुधबार रिहा हुँदैछन् । लक्ष्मण थारु, लाहुराम चौधरी, राजकुमार कठरिया, सन्तराम चौधरी, जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किसनलाल चौधरी, दिलबहादुर चौधरी, संतोष थारु चौधरी, विश्राम चौधरी र रामप्रसाद चौधरी समेत १२ जनालाई ३ वर्ष कैदको फैसला सुनाएको भएपनि उनीहरु बुधबार रिहा हुँदैछन् ।

फैसलामा तोकिएको ३ वर्ष अवधिको कैद जरिवाना यसअघि नै पुगिसकेकाले कारागारको कागजी प्रकृयापछि बुधबार उनीहरु रिहा हुन लागेका हुन् । ६ महिना कैद तोकिएका करन चौधरीपनि रिहा हुँदैछन् । ३ वर्ष चुन्नीराम चौधरी भने यही फागुन ३० गते छुट्ने छन् । 

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकहरु बलराम विष्ट र केशव बोहोरा, प्रहरी हवल्दारहरु श्यामबहादुर खड्का, जनक नेगी तथा प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका हवल्दार ललित साउद र राम बिहारी थारूलाई थरूहट थारुवान पक्षधर आन्दोलनकारीहरुले नियन्त्रणमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा मुद्दा चलेको थियो ।

सोही घटनामा टीकापुर नगरपालिका ९ स्थित घरमै खेलिरहेको अवस्थामा सशस्त्र प्रहरीका हवल्दार नेत्रबहादुर साउदका २ वर्षीय छोरा टेकेन्द्र साउदको गोली प्रहार गरी हत्या गरिएको थियो । 

प्रतिवादीहरुका तर्फबाट विभिन्न प्रतिवादीहरुका लागि अधिवक्ताहरुले बेग्लाबेग्लै बहस गरेका थिए ।

वरिष्ठ अधिवक्ता गोपालप्रसाद घिमिरे, पूर्व महान्यायधिवक्ता हरि फुयाँल र अधिवक्ता दीनमणी पोख्रेलले रेशम चौधरीका लागि मात्रै बहस गरेका छन् । यस्तै, दीनमणी पोख्रेलले रेशमसहित प्रतिवादीहरु लाहुराम चौधरी र लक्ष्मण थारुका पक्षमा समेत बहस गरेका हुन् ।

कैलालीका अधिवक्ताहरु गंगाराम पाध्याय, गजेन्द्र केसी, गम्भीर सिंह ऐर, वीरबहादुर जेठारा, नाथुराम महता र जुहारीलाल चौधरीले रेशमसहित सबै २७ जना प्रतिवादीको पक्षमा बहस गरेको अधिवक्ता गंगाराम पाध्यायले बताउनुभयो । वादीहरुको पक्षमा भने जिल्ला न्यायधिवक्ता विष्णुप्रसाद पौडेलले बहस गरेका हुन् । 


प्रतिक्रिया