झण्डै पन्ध्र करोड बजेट थपियो

फाल्गुन २३, २०७५ | रुकुम पश्चिम

 चालू आर्थिक वर्षमा खर्च गर्ने गरी रुकुम पश्चिमका लागि थप १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघीय सरकारले जिल्लाका ४ स्थानीय तहलाई १४ करोड ७१ लाख ९२ हजार रुपैयाँ बजेट खर्च गर्ने गरी थप गरेको हो । विशेष र समपुरक अनुदान शीर्षकमा उक्त बजेट आएको हो । विशेष अनुदानमा १० करोड ५० लाख र ४ करोड २१ लाख ९२ हजार रुपैयाँ समपुरक अनुदान बापतको रकम स्थानीय तहमा आएको हो । 

जिल्लाको मुसीकोट र आठबीसकोट नगरपालिकामा विशेष र समपुरक अनुदान शीर्षकमा थप बजेट आएको छ भने त्रिवेणि र बाँफिकोट गाउँपालिकामा विशेष अनुदान शीर्षकमा मात्रै बजेट आएको छ । मुसीकोट नगरपालिकामा विशेष अनुदानमा ३ करोड र समपुरक अनुदानमा २ करोड १० लाख ९६ हजार गरी ५ करोड १० लाख ९६ हजार रुपैयाँ बजेट आएको छ ।

यसैगरी, आठबीसकोट नगरपालिकामा पनि विशेष अनुदानमा ३ करोड र समपुरक अनुदानमा २ करोड १० लाख ९६ हजार गरी ५ करोड १० लाख ९६ हजार रुपैयाँ बजेट आएको छ । त्रिवेणि गाउँपालिकालाई संघीय सरकारले विशेष अनुदान शीर्षकमा २ करोड ५० लाख रुपैयाँ बजेट थप दिएको छ भने बाँफिकोट गाउँपालिकामा विशेष अनुदान शीर्षकमा २ करोड रुपैयाँ बजेट आएको छ ।

संघीय सरकारले चालू आर्थिक वर्ष भित्रै खर्च गरी सक्ने गरी कार्यान्वयन गर्ने अख्तियारी सहित बजेट पठाएको हो । जिल्लाका ६ स्थानीय तहमध्य चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाले भने चालु आर्थिक वर्षको लागि विशेष र समपुरक अनुदान पाउन सकेनन् । समयमै आवश्यक प्रक्रिया नपु¥याउँदा चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका अनुदान पाउनबाट वञ्चित रहे । 


प्रतिक्रिया