कञ्चनपुर प्रकरण : ६ प्रहरीलाई धरौटीमा छाड्न अदालतको आदेश

फाल्गुन ३०, २०७५ | कञ्चनपुर

जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यस्तो आदेश दिएको हो ।

अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार प्रहरी नायब उपरीक्षक डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रमाण नष्टमा ५ र यातनामा ४ लाख गरी ९ लाख धरौटी मागिएको छ । यस्तै, प्रहरी निरीक्षक जगदीश भट्टलाई ४ लाख, सई हरिसिंह धामीलाई ३ लाख ५० हजार, अर्का सई रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी माग गरिएको छ ।

निर्मलाकी आमा दूर्गादेवी र अनुसन्धानका क्रममा पक्राउ परेका दिलिपसिंहका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा कञ्चनपुरकी तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर भएको थियो । तर, विष्ट र डीएसपी अंगुर जिसी फरार छन् भने ६ जना पक्राउ परेका थिए ।

तर, अदालतमा मुद्दा चलिरहेकै बेला दुर्गादेवीले निवेदन फिर्ताका लागि आवेदन दिएकी थिइन् । गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी १३ वर्षीया निर्मलाको बलात्कार गरी हत्या गरेको अवस्थामा भोलिपल्ट बिहान उखुबारीमा शव भेटिएको थियो ।

घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुको साथै प्रमाण नष्ट गरेको सरकारी छानबिन समितिले औंल्याइएको थियो । साथै घटनामा संलग्न भएको आशंकामा पक्राउ परेकाहरुलाई यातना दिएर अपराध स्वीकार गर्न दबाब दिएका थिए ।


प्रतिक्रिया