व्यापार घाटा साढे ७ खर्ब नाघ्यो

रेडियो कान्तिपुर संवाददाता

चैत्र १, २०७५ | काठमाडौं

पेट्रोलियम पदार्थ, मेशिनरी पार्टपुर्जा, तयारी पोशाक लगायतका सामाग्रीको आयात बढेसँगै मुलुकको व्यापारघाटा साढे ७ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैकले चालु आर्थिक वर्षको ७ महिनाको देशको आर्थिक तथा वित्तिय अवस्था सार्वजनिक गर्दै  मुलुकको व्यापार घाटा ७ खर्ब ८० अर्ब पुगेको जनाएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ दशमलव १ प्रतिशतले बढी हो ।

भारत, चीन लगायतका मुलुकबाट ८ खर्ब २२ अर्ब २७ करोड रुपैयाँ बराबरको वस्तु आयात हुदा नेपालबाट भने ५३ अर्ब ८ करोड मुल्य बराबरको सामान निर्यात भएको छ । यद्यपी मुलुकबाट हुने कुल निर्यातमा करिब १२ प्रतिशतले बृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । 

पुषमसान्त सम्म ६३ अर्ब ६८ करोडले घाटामा रहेको मुलुकको शोधानान्तर स्थिति माघसम्म आइपुग्दा भने  १४ अर्ब ३६ करोडले घटेको छ । यद्यपी अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने ३१ अर्ब ४ करोडले बढी हो । अर्थतन्त्रका अधिकाशं सुचक निराशाजकन देखिदा रेमिट्यान्स आप्रवाहमा भने उल्लेख्य बृद्धि भएको छ ।

समीक्षा अवधिमा २८ दशमलव ५ प्रतिशतले बृद्धि भई ५ खर्ब १५ अर्ब ५५ करोड रेमिट्यान्य मुलुक भित्रिएको केन्द्रिय बैंकले जनाएको छ । रेमिट्यान्स बढेपनि अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने कमी आएको छ ।

सरकारले लगानीको वातावरण बनेको दाबी गर्दै आएपनि माघ महिनासम्म ५ अर्ब १५ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी मुलुक भित्रिएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९ अर्ब १९ करोडले कमी हो ।

मुलुकभर रहेका ७ सय ५३ स्थानिय तहमध्ये ४२ स्थानीय तहमा अझैपनि बैंकको पहुँच पुग्न सकेको छैन ।  


प्रतिक्रिया