निलम्बित एसपी दिल्लीराज अदालतमा उपस्थित

चैत्र ५, २०७५ | कञ्चनपुर

कञ्चनपुरकी १३ वर्षिया बालिकाको बलात्कार पछि हत्या भएको घटनामा प्रभावकारी छानविन नगरेको भन्दै बर्खास्तीमा परेका नेपाल प्रहरीका एसपी दिल्लीराज विष्ट आज अदालतमा हाजिर भएका छन् । अघिल्लो बुधबार जिल्ला अदालत कञ्चनपुरले उपस्थितीका लागि ३५ दिने सुचना जारी गरेको १४ दिनमा उनी आज अदालत उपस्थित भएका छन् ।

अदालतले केहीबेरमा उनको बयान लिने तयारी गरेको छ । बयानपछि थुनछेक बहस सुरु हुनेछ । बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित ८ प्रहरीविरुद्ध अनुसन्धानमा लापरवाही गरेको तथा निर्दोषलाई पक्राउ गरी यातना दिएको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । आरोपित डीएसपी अंगुर जिसी भने अझै फरार छन् ।

यसअघि पक्राउ परेका ६ जना प्रहरीलाई भने कञ्चनपुर अदालतले धरौटीमा छाड्न आदेश दिइसकेको छ । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीश प्रसाद भट्ट, प्रहरी सहायक निरीक्षक हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउद रिहा भएका हुन् । निर्मलाको गत साउन ११ गते बलात्कारपछि हत्या भएको थियो ।

घटनाको ८ महिनासम्म पनि प्रहरी अनुसन्धान अझै शुन्यमा छ । अनुसन्धानका लागि प्रहरीले आवश्यक ठोस प्रमाण समेत जुटाउन सकेको छैन ।  

 


प्रतिक्रिया