कांग्रेसको अनुशासन, निर्वाचन र पार्टी नियमावली समिति गठन

रेडियो कान्तिपुर संवाददाता

चैत्र ५, २०७५ | काठमाडौं

- केन्द्रीय महाधिवेशन भएको ३ वर्षपछि कांग्रेसले अनुशासन, निर्वाचन र पार्टी नियमावली समिति गठन गरेको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यलयमा आज बसेको केन्द्रीय समिति बैठकले पार्टीको तीनवटा महत्वपुर्ण निकायलाई पुर्णता दिएको हो ।

संस्थापन र इतर पक्षवीच समिति चयनमा विवाद भएपछि लामो समय देखि केन्द्रीय समिति बैठक नै प्रभावित भएको थियो । केन्द्रीय समितिको आज सम्पन्न बैठकले समिति सदस्यहरुको नाम सर्वसम्मत रुपले अनुमोदन गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । 

केन्द्रीय समिति बैठकले अनुशासन समितिमा भिष्मराज आङ्देम्बेको संयोजकत्वमा देवेन्द्रराज कँडेल, किशोरसिंह राठोर, धनराज गुरुङ र उमाकान्त चौधरीको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । यस्तै निर्वाचन समितिमा राधेश्याम अधिकारीको संयोजकत्वमा एकराज पोखरेल, खम्व बहादुर खाती, सिताराम केसी र गोपाल कृष्ण घिमिरे चयन भएका छन् । बैठकले पार्टीको नियमावली समितिमा रमेश लेखको संयोजकत्वमा मिन विश्वकर्मा, इश्वरी न्यौपाने, जिवन परियार र प्रदिप पौडेलको नाम अनुमोदन गरेको हो ।

पदाधिकारी र सदस्यहरु स्वत : महाधिवेशन प्रतिनीधि हुने विषयमा भने वरिष्ठ नेता पौडेल पक्षले केन्द्रीय समिति बैठकमा नोट अफ डिसेन्ट लेखेको छ । महासमिति बैठकमा सदस्यहरुले उठाएको माग संस्थापन पक्षले पुरा नगरेको भन्दै विरोध गरिएको पौडेलले बताउनुभयो ।

यसअघि कांग्रेसका ५६ जिल्ला सभापतिहरुले समेत महासमिति बैठकमा आएको सुझाव अनुसार पदाधिकारी र सदस्य पनि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने भन्दै सभापति शेर वहादुर देउवाको ध्यानाकर्षण गराएका थिए । संस्थापन पक्षले भने पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनीधि हुने गरि केन्द्रीय समितिबाट विधान बहुमतले पारित गरिसकेको छ ।  नेविसंघको विषयमा भने केन्द्रीय समितिको आजको बैठकले कुनै निर्णय गरेको छैन । 


प्रतिक्रिया