मानवीय त्रुटिका कारण अन्सारीको नागरिकता र रजिस्टारमा भएको जन्म मिति फरक

रेडियो कान्तिपुर संवाददाता

चैत्र ५, २०७५ | काठमाडौं

- मानवीय त्रुटिका कारण मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको नागरिकता र रजिस्टारमा भएको जन्ममिति फरक परेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्पष्ट पारेको छ । प्रशासन कार्यालयले संघीय संसदको सुनुवाई समितिलाई लेखेको पत्रमा मानवीय त्रुटिका कारण अन्सारीको जन्ममिति नागरिकता र रजिष्टारमा फरक परेको उल्लेख गरेको छ ।

२०५५ साल पुस २२ मा अन्सारीले लिएको ७३८४ नम्बरको नागरिकतामा जन्म मिति २०३०/६/२४ भएको र २०६६ भदौ ९ मा ८७१ नम्बरको नागरिकतामा पनि २०३०/६/२४ नै भएपनि रजिस्टरमा २०३७/६/२४ हुनुमा जारी गर्ने अधिकारी र कर्मचारीको मानवीय कारणले त्रुटि भएको प्रशासन कार्यालयले जनाएको हो । सुनुवाई समितिले गत फागुन २३ गते अन्सारीको नागरिकताका सम्बन्धमा स्पष्ट पार्न जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो ।

प्रशासन कार्यालयले समितिले माग गरे बमोजिमको जवाफ पठाएको हो । संवैधानिक परिषद्को गत माघ ५ गते बसेको बैठकले मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरेको थियो । नागरिकताको जन्ममिति, राजनीतिक दललको सदस्यता लिइरहेको लगायत उजुरी परेको थियो । सो ऊजुरीको सम्वन्धमा समितिले छानविन गर्दागर्दै ४५ दिनको समयावधी घर्किसकेको छ ।

संघीय संसदको संयुक्त बैठक र संयुत्त समिति कार्यसञ्चालन नियमावली, २०७५ को नियम २६ मा सम्बन्धित निकायबाट पत्र प्राप्त भएको मितिले पैंतालीस दिनभित्र सुनुवाई गरी प्रस्तावित पदको लागि समितिको राय तयार गरी सम्बन्धित निकायमा पठाउनु पर्नेछ ।

सो समयभित्र समितिले सम्बन्धित निकायमा आफ्नो निर्णय उपलब्ध गराउन नसकेमा सुनुवाईका लागि पठाइएको पदमा नियुक्तिको लागि कुनै बाधा पुग्ने छैन भन्ने उल्लेख छ । नियमावलीको सोही प्रावधान अनुसार सुनुवाई नभएपनि नियुक्तिका लागि बाधा नपर्ने स्पष्ट छ । यद्यपी उहाँलाई अहिलेसम्म नियुक्त गरिएको छैन ।


प्रतिक्रिया