निर्मला हत्या प्रकरण : जिसीको थुनछेक बहस सुरु

चैत्र १२, २०७५ | कञ्चनपुर

- कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका निलम्बित डीएसपी अंगुर जिसीको मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।

हिजो अदालतमा हाजिर भएका जिसीको बयान लिने काम सकिएपछि आजबाट थुनछेक सुरु भएको हो । जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले भन्न्भुयो ‘बयान सकिएर थुनछेक बहस सुरु भएको छ, आज एक जनाले मात्रै बहस गर्नुभएको छ । बहस भोलि पनि निरन्तर चल्ने छ ।’

उहाँका अनुसार आज वादी पक्षबाट अधिवक्ता बसन्त गौतमले बहस गर्नुभएको थियो । यातना र प्रमाण नष्ट गरेको कसुरमा तत्कालिन एसपी दिल्लीराज विष्ट, डीएसपी जिसीसहित ८ जनाका नाममा गत फागुन २२ गते जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

निर्मला हत्या घटनाको अनुसन्धानमा जिल्ला प्रहरीलाई सघाउन केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीएसपी जिसी कञ्चनपुर गएका थिए । उनीसहितको टोलीले दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । यातना र प्रमाण नष्ट गरेको अभियोग लागेका पूर्वएसपी विष्टसहित अन्य ७ जना थुनछेकपछि धरौटीमा रिहा भईसकेका छन् । 

 


प्रतिक्रिया