निर्मला हत्याकाण्ड :  निलम्बित डीएसपी जिसीसहित ८ प्रहरी धरौटीमा रिहा

चैत्र १३, २०७५ | कञ्चनपुर

- कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका सबै ८ जना प्रहरी धरौटीमा छुटेका छन् । निलम्बित डीएसपी अंगुर जिसी आज ९ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएसंगै अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका आठै जना प्रहरी/ धारौटीमा रिहा भएका छन् ।

अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्नुको कारण खोतल्दा मुख्य आरोपीसम्म पुग्न सकिने झिनो आशा समेत समाप्त भएको निर्मलालाई न्याय दिलाउन लागेका अधिकारकर्मीहरुको भनाई छ । यातना र प्रमाण नष्टविरुद्दको मुद्दामा थुनछेक बहसपछि जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आर्चायको इजलासले उनीहरु सबैलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले सवैभन्दा बढी धरौटी तत्कालिन एसपी दिल्लीराज विष्टसँग साढे १० लाख, डीएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कासँग ९/९ लाख, प्रहरी निरीक्षक जगदीश भट्टसँग ४ लाख, प्रहरी नायब निरीक्षक सई हरिसिंह धामीसँग ३ लाख ५० हजार र रामसिंह धामीसँग ३ लाख तथा जवान चाँदनी साउँदसँग २ लाख ५० हजार धरौटी मागेको थियो । साधारण तारेख बुझन भने उनीहरु चैत २८ गते जिल्ला अदालत उपस्थित हुनुपर्नेछ ।

 अदालतले आज निलम्बित डीएसपी जिसीसँग निर्दोषलाई यातना दिएको कसुरमा ४ तथा प्रमाण नष्ट गरेकोमा ४ लाख रुपैयाँ धरौटी अदालते मागेको थियो ।  प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको कसुरमा ८ जनाविरुद्द गत फागुन २२ गते जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

निर्मला हत्या घटनाको अनुसन्धानमा जिल्ला प्रहरीलाई सहयोग गर्न केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीएसपी जिसी कञ्चनपुर गएका थिए । उनीसहितको टोलीले दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । 

प्रहरी प्रधान कार्यालयले एसपी विष्ट र निरीक्षक भट्टलाई बर्खास्त गरिसकेको छ । निलम्बित अन्य ६ मध्ये केही सेवानिवृत भइसेकका छन् । निर्मलाको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटनाको ८ महिनासम्म पनि प्रहरी अनुसन्धान शून्यमा छ । 

 


प्रतिक्रिया