बिहानैदेखि कालिका मन्दिरमा दर्शनार्थीको भीड

रेडियो कान्तिपुर संवाददाता

चैत्र २३, २०७५ | बागलुङ

पर्यटकीय गन्तव्यमा सूचीकृत बागलुङ कालिका मन्दिरमा चैते दशैं मेला सुरु भएको छ । चैत शुक्ल प्रतिपदा देखि राम नवमी सम्म विशेष पूजा र मेला लाग्ने भएपछि देशभरका सयौं भक्तजन आइपुगेका हुन् । शनिबार बिहानदेखिनै लामबद्ध भएर पूजा गर्नेको भीड लागेपछि कालिका भगवती व्यवस्थापन गुठी व्यवस्थापन समितिले स्वयंसेवक, कर्मचारी खटाएर व्यवस्थापनको काम गरिरहेको छ । 

चैते दशैंको अवसर पारेर महोत्सव अवलोकन तथा कालिकाको पूजाका लागि सयौं भक्तजन आउने गर्छन् । रामनवमी सम्म ४ लाख भक्तजन तथा आन्तरिक पर्यटक भित्राउने लक्ष राखिएको समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

चैते दशैंको अवसर पारेर गाउँ–गाउँ र विभिन्न जिल्लाबाट आउने भक्तजनको व्यवस्थापनका लागि गुठीले मेला, स्टल र विशेष आवासको पनि व्यवस्था गरेको छ । मेलामा राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, भलिबल प्रतियोगिता, छेलो, बाल उद्यान, लगायतका कार्यक्रम समावेश छ । 

मेलामा ग्रामीण किसानले उत्पादन गरेका काठ, बाँस र बेतबाट बनाएका सामानहरुको बिक्री गरिने चलन छ । ठेका, डाला र नाङ्ला किन्न पाइने भएकोले गाउँ–गाउँबाट सयौं आउने गरेका छन् । मेलालाइ यानीमाया, सालैज्यो जस्ता लोकगीत गाउने स्थानको रुपमा पनि चिनिने गरिएको छ । बागलुङको रणसिंकिटेनी, जलजला, पाण्डबखानी, सिसाखानी, रिघा जस्ता गाउँबाट किसानले वर्षभरी निर्माण गरेका काठ, बाँस र निगालोका सामाग्री मेलामा ल्याउने गरेका छन् ।

पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवी सँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालीकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि मन्दिरमा मेला र पूजा सुरु भएको पाइन्छ । अहिले सम्म बागलुङ कालीका बारेमा तीनवटा मात्र पुराना लेखोटहरु फेला परेका छन् । मन्दिरको भीत्तामा १४ वटा विभिन्न शक्तिका मूर्ति कुँदिएका छन् । प्यागोडा शैलीमा निर्मित मन्दिर जंगलको बीचमा रहेको छ । १ सय ८ वटा तामाका दियो जडित मन्दिर तामाले छाइएको छ । 


प्रतिक्रिया