गुरुङको ‘सुनपानी’ फिल्म

चैत्र ३०, २०७५ | लमजुङ

गुरुङ समुदायमा सुनपानी (मारक्यु) को महत्व दर्साउन फिल्म नै निर्माण गरिएको छ । जीवन र मरणको दोसाँधमा पुगेकालाई सहज बनाउन नेपाली समाजमा सुनपानी प्रयोग गरिन्छ । गुरुङ समुदायमा सुनपानी खुवाएपछि निधन भएमा उसको स्वर्गमा बास हुने विश्वास छ ।

भाषा, कला, संस्कार संस्कृति र मायाप्रेमको विषय वस्तुलाई समेटेर फिल्मको नाम नै मारक्यु (सुनपानी) बनाइएको छ । लमजुङकै दोर्दी गाउँपालिका ५ को छैलुङ र वाकस्वाँरामा छायांकन गरिएको फिल्मको पहिलो प्रिमियर शो बैशाख २८ गते बेंसीसहरको अन्नपूर्ण चलचित्र मन्दिरमा हुने भएको छ ।

बेंसीसहरमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा फिल्मका निर्देशक दिनेश गुरुङले लमजुङकै कलाकार साथै धेरै प्राविधिक समेत लमजुङकै भएकाले फिल्मलाई लमजुङबाटै प्रदर्शन सुरुवात गरिएको बताउनुभयो । उहाँका अनुसार नेपाली समुदायले बुझ्ने गरी फिल्मलाई नेपाली भाषामा समेत रुपान्तरण गरिएको छ । गुरुङ समुदायको लागि भने गुरुङ भाषामै फिल्म छ । फिल्मको ओर्जिनल कपी पनि गुरुङ भाषाकै हो ।

क्लाईमेक्स आर्ट प्रालिको व्यानरमा निर्मित उक्त फिल्म निर्देशक दिनेश गुरुङको डेब्यु फिल्म हो । गुरुङ फिल्म एसोसिएसन नेपाल –जिफान) को विधान अनुसार २ वटा फिल्मको सह–निर्देशन गसिकेकाले मात्रै निर्देशन गर्न पाउँछ । फिल्ममा प्रेम कथाका अलावा बाबा आमाको निधनपछि दिदीले घर व्यवहार सम्हाल्नुपरेको यथार्थपरक घटनालाई समेटिएको निर्देशक गुरुङले बताउनुभयो ।

निर्माता नवराज घलेका अनुसार गुरुङ संस्कारको संरक्षण र प्रवर्द्धनमा फिल्मले ठूलो भूमिका खेल्ने दाबी गर्नुभयो । घलेगाउँ घर भई हाल बेलायत बस्दै आएका उनले पत्रकार भेटघाटमा भन्नुभयो, ‘हामीलाई कुनै फाइदा होला भनेर फिल्म निर्माणमा लागेको होइन । हाम्रो भाषा, संस्कार र संस्कृति जोगिन्छ भनेर लागेका हौं । फाइदा बेफाइदाको कुरा छँदैछ ।’ अर्का निर्माता राकेश गुरुङले फिल्म निर्माणका लागि हालसम्म २६ लाख रुपैयाँ खर्च भएको बताउनुभयो । सबैतिरका लागि प्रचारप्रसार लगायतमा अझै ३ देखि ४ लाख रुपैयाँसम्म लाग्न सक्ने उहाँको भनाई छ ।

सुवास गुरुङ (गशेण) द्धारा लिखित उक्त फिल्म १ घण्टा ४० मिनेटको बनेको छ । फिल्ममा नवराज घलेका अलावा चन्द्रबहादुर गुरुङ (पर्वत), कालु गुरुङ लमजुङ हाल कोरिया, सूर्य घले हाल कोरिया, केशबहादुर गुरुङ कास्की हाल कोरिया, दविराम गुरुङ हाल संगापुर, नन्दबहादुर गुरुङ अमेरिका, संग्राम गुरुङ तनहुँ हाल कतार र राकेश गुरुङको लगानी छ ।

खुसी गुरुङ, रोशनी गुरुङ, कमल गुरुङ, आकाश गुरुङ, गजबहादुर गुरुङ, अस्मिता गुरुङ, केशकुमारी गुरुङ, प्रतिमा गुरुङ, पर्शुराम गुरुङ, दुरमाया घले, सीमा गुरुङ लगायतले फिल्ममा अभियन गरेका छन् । फिल्मको छायांकन सुशान प्रजापतिले गरेका छन् । सम्पादन उज्वल ढकालको छ । 

नायिका खुसी गुरुङका अनुसार लमजुङका प्रदर्शनपछि स्वदेशमा पोखरा, पर्वत, चितवन, काठमाडौं लगायत सहर साथै विदेशमा बेलायत, हङकङ, अमेरिका, कोरिया, कतार, दुबईलगायतका देशमा प्रदर्शन गरिने छ । ‘हामी गुरुङ समुदाय बाहेक अन्य जातजाति तथा भाषाभाषी भएका ठाउँमा नेपालीमा डबिङ गरिएको देखाउँछौं । गुरुङ समुदायमा भने गुरुङ भाषा छँदैछ ।’ 


प्रतिक्रिया