'एक नेपाली एक बैंक खाता' कार्यक्रमको सुरुवात 

रेडियो कान्तिपुर संवाददाता

वैशाख १, २०७६ | काठमाडौं

- नयाँ बर्षको आरम्भसँगै सरकारले एक नेपाली एक बैंक खाता कार्यक्रमको सुरुवात गरेको छ । चालु आर्थिक बर्षको बजेट वत्तव्यमा उल्लेख भएअनुसार सरकारले यसको कार्यान्वयन सुरु गरेको हो । जेष्ठ नागरिक स्वास्थ्य बिमा तथा खोलौं बैंक खाता कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमका बीच शुभारम्भ गर्नुभयो ।

सबै नेपालीको बैंक खाता कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीले आफनो बुवाको खाता खोलेर कार्यक्रमको उदघाटन गर्नुभएको हो । कार्यक्रम अनुसार नयाँ बचत खाता खोल्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले प्रतिखाता सय रुपैयाँ  जम्मा गरीदिने छन् । यसका लागि नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दिइसकेको छ ।

सबै नेपालीमा वित्तीय पहुँच पुर्‍याउन बैंक खाता अभियानलाई तिब्रता दिइएको राष्ट्र बैंकले जनाएको छ ।  गत फागुनसम्म २ करोड ५६ लाख ५८ हजार निक्षेप खाता खुलेको राष्ट्र बैंकले जनाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४१ लाख ५९ हजार बढी हो । ०७४ साल फागुनसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप खाता संख्या २ करोड १४ लाख ९८ हजार थियो ।


प्रतिक्रिया