ध्वंसात्मक गतिविधि गर्नेलाई सरकारले नियन्त्रणमा लिन्छ : गृहमन्त्री थापा

वैशाख ४, २०७६ | हेटौंडा

गृहमन्त्री रामवहादुर थापाले ध्वंसात्मक गतिविधि गर्ने र मुलुक एवं संविधानका विरोधमा काम गर्ने जो कोहीलाई पनि सरकारले नियन्त्रणमा लिने बताउनु भएको छ । नेत्र विक्रम चन्द समूहलाई वार्तामा ल्याउन सरकारले प्रयास गरेपनि वार्तामा आउनुका सट्टा ध्वंसात्मक गतिविधि जारी नै राखेकाले नियन्त्रणमा लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ध्वंसात्मक गतिविधि बन्द नगरेसम्म त्यस्ता समूहसँग सरकारले वार्ता गर्देन, ध्वंसात्मक गतिविधि गर्नेहरुलाई नियन्त्रण गर्ने कार्य सफलता मिल्दै गएको छ ।’

मंगलबारदेखि जारी प्रदेश—३ को सुरक्षा गोष्ठीको उद्घाटन गर्न बुधबार हेटौंडामा पुगेका गृहमन्त्री थापाले पत्रकार भेटघाटमा देशको सुरक्षास्थितिलाई मजबुत बनाउँदै लगेको दाबी गर्दै तस्करी र गुन्डागर्दीलाई नियन्त्रण गर्न सफल भएको बताउनुभयो । मुलुकमा शान्ति सुरक्षाका अवस्था सुदृढ नभएसम्म विकास र समृद्धि सम्भव नहुने उहाँको भनाई थियो ।

प्रहरी ऐन नबन्दासम्म संघीय र प्रदेशमा प्रहरी परिचालनमा केही द्धिविधाहरु भएपनि ऐन बनेपछि सबै निराकरण हुने बताउनुभयो । मंगलबारदेखि हेटौंडामा प्रदेश—३ का १३ वटा जिल्ला सुरक्षा निकाय प्रमुखहरु सुरक्षाको अवस्था र चुनौती बारे छलफल गरिरहेका छन् ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राध्यापक डाक्टर इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, ससस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका निर्देशक गणेश अधिकारी, मध्यपृतना हेडक्वाटर हेटौंडाका पृतनापति उपरथी सुवर्णबहादुर शाह, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदी, राष्ट्रिय परिचयपत्र विभागका दिपक काफ्ले र सहसचिव इन्दु घिमीरे लगायतकाको सहभागिता रहेको छ ।

पहिलो दिन सुरक्षा निकायका प्रमुखहरुले सुरक्षाको अवस्था र चुनौती एवं विपद व्यवस्थापन सम्बन्धी  प्रस्तुतीकरण गरेका थिए । 


प्रतिक्रिया