रुपन्देहीमा बलात्कारका घटना बढे

वैशाख ८, २०७६ | बुटवल

पछिल्लो समय रुपन्देहीमा बलात्कार घटना बढ्दै गएको छ । प्रहरी तथा सामाजिक संघ संस्थाले बलात्कार विरुद्धका अभियान सञ्चालन गरेको बताएपनि रुपन्देहीमा भने अर्थहिन बनेका छन् । जिल्लामा बलात्कार विरुद्ध विभिन्न सचेतनामुलक अभियान सञ्चालनमा रहेपनि बालिकाहरुमाथि करणी तथा यौन हिंसाका पीडितको उजुरी बढ्दो छ ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्म मात्रै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ७३ वटा बलात्कार विरुद्धका उजुरी दर्ता भएका छन् । त्यसमध्ये यौन हिंसाका २३ वटा उजुरी परेका छन् । बलात्कृत हुनेमा ५५ बालिका छन् । ७ वर्ष मुनिका बालिका ९ जना छन् ।

गत वर्ष ६७ वटा बलात्कारका घटना दर्ता भएका थिए । त्यसमा ४१ बालिका र १० जना नाबालिका थिए । आर्थिक वर्ष २०७३/७४ मा ७३ वटा बलात्कारका घटना दर्ता भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक हृदय थापाका अनुसार बालिका घरभित्रै पनि बलात्कारमा परेका छन् ।

बलात्कारमा घरपरिवारका सदस्य, चिनजानकै व्यक्ति, आफन्त तथा छिमेकीको संलग्नता रहने गरेको उहाँले बताउनुभयो । अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक उमेश जोशीले सानो कुरामा लोभिने र घटनाबारे सही सूचना दिन नसक्ने भएकाले सहजै उम्कीन सक्ने सोचले बालिकामाथि धेरै बलात्कार हुने प्रवृति बढेको बताउनुभयो । 


प्रतिक्रिया