स्वास्थ्य क्षेत्रका १० हजार कर्मचारीले गराए गुनाशो दर्ता

रेडियो कान्तिपुर संवाददाता

वैशाख ८, २०७६ | काठमाडौं

- स्वास्थ्य सेवा क्षेत्रका करिव २७ हजार कर्मचारी मध्ये एक तिहाइले समायोजन प्रति असन्तुष्टी जनाएका छन् । करिव १० हजार कर्मचारीले समायोजन प्रति असन्तुष्टी राख्दै गुनासो दर्ता गरेको संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले जनाएको छ ।

रोजेको स्थानमा नपरेको, वरिष्ठलाई भन्दा कनिष्ठलाई प्राथमिकता दिइएको, श्रीमान श्रीमती एक स्थानमा नपरेको, प्रदेश वा स्थानीय तहमा जान चाहेको तर संघमा परेको, तराईमा हुनुपर्ने पहाडमा पुगेको लगायतका गुनासो दर्ता भएको मन्त्रालयका निमित्त सचिव एव प्रवक्त सुरेश अधिकारीले बताउनुभयो ।

यसअघि हड्तालमा उत्रिएको सरकारी चिकित्सक संघ गोदानको केही मागहरु भने पुरा नहुने मन्त्रालयले जनाएको छ । समायोजन भएर प्रदेश वा स्थानीय तहमा पुगेका चिकित्सक स्वतः संघ आउन पाउनुपर्ने चिकित्सकले माग राख्दै आएका छन् ।

चिकित्सकको सो माग कानुन विपरीत भएको मन्त्रालयको ठहर छ । प्रदेश वा स्थानीय तहमा समायोजन भएका जुनसुकै कर्मचारीले संघमा प्रतिस्पर्धा मार्फत आउनुपर्ने कर्मचारी समायोजन ऐनमा व्यवस्था छ । 

गत चैतमा मन्त्रालयले एक लाख ३१ जना कर्मचारीको समायोजन गर्दा त्यस प्रति असन्तुष्ट स्वास्थ्य क्षेत्रका कर्मचारी आन्दोलनमा उत्रिए पछि सरकारले गत विहीबारसम्म गुनासो दर्ता गर्ने समय तोकेको थियो । दर्ता भएको गुनासोलाई आजबाट वर्गिकरण गरि यही हप्ता भित्र टुंगोमा पुर्‍याउने मन्त्रालयको तयारी छ । 

 


प्रतिक्रिया