चेन्नईविरुद्ध बैंङ्लोरको रोमाञ्चक जित

रेडियो कान्तिपुर संवाददाता

वैशाख ९, २०७६ | एजेन्सी

ईण्डियन प्रेमियर लिग क्रिकेट आईपीएलमा रोएल च्यालेन्जर्स बैंङ्लोरले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा उसले शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई एक रनले पराजित गर्‍यो । हारपछि पनि चेन्नई १४ अंकमा शीर्ष स्थानमा कायम छ भने तेस्रो जित हात पारेको बैंङ्लोर पुछारमा छ । समान १२ अंक भएका मुम्बई इण्डियन्स दोस्रो र दिल्ली क्यापिटल्स तेस्रोमा छन् । 

बैंङ्लोरले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६० रनमात्र बनाउन सक्यो । क्याप्टेन महेन्द्र सिंह धोनीले नटआउट ८४ रन बनाएपनि हार टार्न भने सकेनन् ।

टोलीको स्कोर २८ रन हुँदा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै धोनीले ७ वटा छक्का र ५ वटा चौका प्रहार गरे । अम्बाती राईडुले २९ रन बनाए । डेल स्टेयन र उमेश यादवले समान २ विकेट लिए । 

यसअघि पहिले व्याटिङ गरेको बैंङ्लोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । क्याप्टेन विराट कोहली र एबीडी भिलियर्स सस्तैमा पवेलियन फर्केको बैंङलोरको इनिङ्स पार्थिव पटेलले सम्हालेका थिए । उनले ५३ रन बनाए । मोइन अलीले २६ रन जोडे । 

हिजै भएको पहिलो खेलमा कोलकात्ता नाईट राईडर्सलाई ९ विकेटको फराकिलो अन्तरमा पराजित गर्दै सनराईजर्स हैदरावाद चौथो स्थानमा उक्लिएको छ । ९ खेलबाट उसले १० अंक जोडेको छ भने एक खेल बढी खेलेको कोलकात्ता ८ अंकमा छैठौं स्थानमा कायम छ । 

आईपीएलमा आज राती दिल्ली क्यापिटल्स र राजस्थान रोएल्सबीच प्रतिस्पर्धा हुनेछ । आजको खेलमा विजयी भए नेपाली लेग स्पीनर सन्दीप लामिछाने आवद्ध दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लने छ । 


प्रतिक्रिया