उदयपुरमा भएको जिप दुर्घटनामा एकको मृत्यु

वैशाख ९, २०७६ | उदयपुर

उदयपुरको बेलका नगरपालिका ७ मैनामैनी कुलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । गएराति सुनसरी बराहक्षेत्र नगरपालिका चतराबाट बेलका नगरपालिका मयाम जाँदै गरेको को १ ज १६१५ नम्बरको जिप दुर्घटना हुँदा बेलका नगरपालिका ७ मैनामैनीका अन्दाजी २३ वर्षीय मनोज राईको घटनास्थलमै मृत्यु भएकोहो ।

दुर्घटनामा गम्भीर घाइते बेलका ७ मैनामैनीका २७ वर्षीय अम्बर राई र बेलका ८ का ३५ वर्षीय चरकुमारी राईको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार अम्बरको हात र छातीमा चोट लागेको छ भने चरकुमारीको टाउकोमा चोट लागेको छ । बेलका ७ की ३२ वर्षीय पिपल कुमारी राई सामान्य घाइते छिन् । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया