पूर्व अर्थमन्त्री पाण्डे संयोजकत्वको उपसमितिले धनगढीबाट सुझाव संकलन गर्दै

रेडियो कान्तिपुर संवाददाता

वैशाख ९, २०७६ | काठमाडौं

प्रतिनिधिसभाको आर्थ समितिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने विषयका सम्बन्धमा आज धनगढीबाट सुझाव संकलन सुरु गर्दैछ । पूर्व अर्थमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुरेन्द्र पाण्डे संयोजकत्वको उपसमितिले सुदूरपश्चिम प्रदेशको धनगढीबाट सुझाव संकलन गर्न लागेको हो ।

सुदूरपश्चिम प्रदेशबाट सुझाव संकलन गरी आजै बर्दिया फर्कने तयारी रहेको समिति सचिवालयले जनाएको छ । नेता पाण्डे नेतृत्वको उपसमितिलाई सुदूरपश्चिम प्रदेश सहित कर्णाली, प्रदेश ५ र गण्डकी प्रदेशबाट सुझाव संकलन गर्ने जिम्मेवारी दिइएको छ ।

पूर्व अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की संयोजकत्वको उपसमितिले प्रदेश १, २ र ३ बाट सुझाव संकलन गरिसकेको छ । सुझाव संकलनका क्रममा कार्यान्वयन हुने गरी बजेट तर्जुमा गर्नुपर्नेमा सरोकारवालाले जोड दिएको उपसमिति संयोजक कार्कीले जानकारी दिनुभयो ।

यस्तै, शिक्षा, स्वास्थ्य, सिंचाई खानेपानी, सडक जस्ता पूर्वाधारको विकासलाई पनि प्राथमिकतामा राख्न सुझाव आएको उहाँको भनाई छ । सबै प्रदेशबाट सुझाव संकलन गरिसकेपछि केन्द्रमा पनि सरोकारवालासँग छलफल गरी तयार बनाएको प्रतिवेदन सरकारलाई बुझाउने समितिले जनाएको छ ।

विगतका आर्थिक वर्षमा बजेट कार्यान्वयन गर्न समस्या भएको निष्कर्ष सहित बजेट तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कनमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले कार्यान्वयनमूखी बजेट तजूृमा गर्न सरकारलाई सुझाव दिने समितिले चासो देखाएको हो ।    


प्रतिक्रिया