रुपन्देहीको सैनामैना नगरले सुधार्‍यो शैक्षिक गुणस्तर  

वैशाख ९, २०७६ | बुटवल

रुपन्देहीको सैनामैना नगरपालिकाले आधारभूत तहको शैक्षिक गुणस्तर सुधार गरेको छ । गत वर्ष विद्यालयमा पास हुने विद्यार्थीको प्रतिशत ४५ भएकोमा यो वर्ष ८० पुगेको हो  । सामुदायिक विद्यालयका मात्रै ७० प्रतिशत विद्यार्थी पास भएका छन् ।

नगरपालिकाले शैक्षिकस्तर सुधारेर चालु शैक्षिक सत्रमा कम्तीमा ६० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य बनाएको थियो । अधिकांश विद्यार्थी फेल हुने प्रवृत्ति फेर्न सैनामैना नगरपालिकाले चालू शैक्षिक सत्रमा विद्यालय सुधार अभियान थालेको थियो ।

त्यसमा शिक्षक सुधार र प्रविधि मार्फत पढाइ सुरु भएको थियो । शिक्षक सुधार अभियानमा शिक्षकहरुलाई दैनिक र वार्षिक योजना बनाउन र योजना अनुसार मासिक परीक्षा लिन लगाइएको थियो ।

नगरप्रमुख चित्रबहादुर कार्कीले लक्ष्य हासिल गर्ने शिक्षकलाई प्रोत्साहनको नियम बनेकाले पनि विद्यालयमा पढाइ सुध्रिएको बताउनुभयो । शिक्षा विज्ञहरुले प्रविधियुक्त शिक्षाले पढाइको स्तर सुध्रने बताएपछि नगरपालिकाले विद्यालयलाई प्रविधिमैत्री बनाएको छ ।

नगरका १८ वटा विद्यालयमा एक सय ३ सेट प्रोजेक्टर र ल्यापटप दिएको छ । शिक्षकहरु पाठ योजना लिएर प्रविधिमैत्री पढाइमा लाग्दा पनि शैक्षिक उपलब्धी बढेको नगर शिक्षा अधिकृत धनिश्वर पन्थीले बताउनुभयो । 


प्रतिक्रिया