नेपाल कम्युनिष्ट पार्टी ७० औं वर्षमा प्रवेश

वैशाख ९, २०७६ | काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष पुगेको छ । नेपालमा कम्युनिष्ट पार्टीले बिताएको ७ दशकको अवधिमा टुटफुट देखि अहिले दुई तिहाईको सरकारलाई मुख्य उपलब्धीको रुपमा लिइएको छ । ७० औं स्थापना दिवसका अवसरमा कम्युनिष्ट घटकहरुले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौंको कमलादीस्थित प्रज्ञा झवनमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यत्रममा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सहभागी हुने नेकपाले जनाएको छ । कम्युनिष्ट पार्टी स्थापनाको ७० औं वार्षिकोत्सव मनाउँदै गर्दा सत्तामा रहेको नेकपाले विभिन्न कालखण्डमा विभाजित पार्टी र आन्दोलनलाई एकताबद्ध गरेको दाबी गर्दै आएको छ । 

तत्कालीन माओवादीबाट टुक्रिएर मोहन वैद्य नेतृत्वमा रहेको नेकपा क्रान्तिकारीले अरुलाई नक्कली कम्युनिष्टको संज्ञा दिंदै पार्टी कार्यालयमा नै सामान्य कार्यक्रम गर्ने जनाएको छ । वैद्य समूहबाट फुटेको अर्को घटकको नेतृत्व नेत्र विक्रम चन्दले गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीकै नामबाट सञ्चालित चन्द समूहले भने अरू कम्युनिष्ट भन्दा भिन्न बाटो रोजेको छ । सोही कारण सरकारले अहिले सो समूहका गतिविधिलाई प्रतिबन्ध लगाएको छ । 

सिपी मैनाली नेतृत्वको नेकपा मालेले पनि रातोपुलस्थित पार्टी कार्यालयमा नै स्थापना दिवस मनाउने जनाएको छ । चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी नेमकिपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत अस्तित्वमा छन् । उनीहरुले आफ्ने तरिकाले कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने बताएका छन् । 

तत्कालीन राणा सरकारको विरोधमा जनमत निर्माण गरी देशमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । सिद्धान्ततः मार्क्सवाद र लेनिनवादमा विश्वास गर्ने भएपनि सुरुमा एउटै नाममा रहेको कम्युनिष्ट पार्टी समयक्रममा मतभेदसँगै विभाजित भएका छन् ।

नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायण विलास जोशीको पहलमा वि.सं. २००६ साल बैशाख ९ गते भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । कम्युनिष्ट पार्टीको स्थापनापछि सोही वर्षको भदौ अन्तिममा पहिलो घोषणा–पत्र जारी गभएको थियो । अहिले अस्तित्वमा रहेका कम्युनिष्ट पार्टीले सोही घोषणा पत्रलाई आाधार मान्ने गरेका छन् । 


प्रतिक्रिया