माथिल्लो तामाकोसीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान सुरु 

रेडियो कान्तिपुर संवाददाता

वैशाख ९, २०७६ | काठमाडौं

स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान सुरु हुने भएको छ । माथिल्लो ठाडो सुरुङमा बैशाखभित्र पेनस्टक पाइप जडान सुरु हुनेछ ।

आयोजनामा ३ सय ७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवं चुनौतिपूर्ण मानिएको छ । तल्लो ठाडो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्नुपर्ने छ ।

माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेनस्टक पाइपहरु जडान भइसकेका छन् । भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपापर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले आयोजनाको स्थलगत निरीक्षण गरी आयोजनाको स्वामित्व लिएर सबै कार्यहरु निर्धारित मितिभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । 

आयोजनामा कर्मचारी संचय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले २/२ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपैयाँ नेपाल सरकारले ऋण लगानी गरेका छन् । 


प्रतिक्रिया