यार्चा संकलनको लागि जेठ १३ गतेबाट पाटन खुला गरिने 

वैशाख २०, २०७६ | डोल्पा

यार्चा गुम्बा संकलनको लागि आगामी जेठ १३ गते देखि डोल्पाको पाटन खुला गरिने भएको छ । शे फोक्शुडो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यलय डोल्पाको संयुक्त भेलाले आगामी जेठ १३ गतेबाट यार्चा संकलनका लागि पाटन क्षेत्र खुला गर्ने निर्णय गरेको हो ।

डोल्पा लगायत छिमेकी जिल्लाबासीको समेत प्रमुख आय स्रोत मानिने यार्चाको दिगो व्यवस्थापनका लागि सम्बन्धित निकायलाई सहयोग गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका थिए । प्रयोग र संकलनमा मात्र भन्दा पनि यसको दिगो उत्पादन, उपयोग तथा व्यवस्थापनमा ध्यान दिनुपर्ने जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताउनुभयो ।

यार्चाको सिजन सुरु हुने समय नजिकिदै गएपछि संकलनका लागि ओहोरदोहोर गर्नेहरुको भीड बढ्न थालेको छ । यो वर्ष गत वर्षहरुमा भन्दा सुरक्षा व्यवस्था सुधार गर्नुका साथै पहुँच बढाइने प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताउनुभयो ।

यार्चा संकलनका लागि जाँदा पाटनमा जथाभावी फालिने फोहोर व्यवस्थापन गर्नुपर्ने, सुरक्षाको बलियो उपस्थिति गराउनु पर्ने लगायत विषयमा सरोकारवालाले सुझाव दिएका छन् ।  


प्रतिक्रिया