यार्सागुम्बा खोज्न नागरिकता

वैशाख २२, २०७६ | लमजुङ

हिमाली जिल्ला मनाङमा बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्ने मौसम सुरु भएको छ । सुरक्षा र व्यवस्थापनका दृष्टिबाट यार्सा टिप्नेलाई नागरिकता अनिवार्य गरिएको छ । मनाङमा यार्सा टिप्न जिल्लाबासी मात्रै नभई टाढा–टाढा मानिसहरु आउने गर्छन् । यार्सागुम्बा टिप्ने ठाउँमा हुनसक्ने अवान्छित गतिविधि, अमर्यादित क्रियाकलाप, गुण्डागर्दी, चोरीडकैती, लुटपाट लगायत क्रियाकलाप रोक्न नागरिकताको फोटोकपी राखेर नागरिकताको आधारमा परिचयपत्र सहित पुर्जी दिने गरिएको छ ।

एक दशकअघि यार्सागुम्बा खोज्ने क्रममा नारको लेकमा स्थानीयले गोरखा केरौंजाका ७ जनाको हत्या गरेपछि यार्सा टिप्न कडाई गरिएको छ । त्यसयता नार र फूमा बाहिरी जिल्लाकालाई यार्सागुम्बा टिप्न प्रतिवन्ध छ ।

साविक १३ गाविसमध्ये थोंचे र धारापानीको लेकबाहेक सवै ठाउँका लेकमा यार्सा पाइने भएपनि सोमबारदेखि नम्ग्याखर्कमा यार्सागुम्बा टिप्न खुला गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङद्धारा गठित संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सा टिप्नेलाई पुर्जी दिने गर्छ ।

नम्ग्यखर्का तत्कालीन ३ गाविस ताचैबगर छाप, नार र चामेको सीमा भएकाले अधिकारसम्पन्न नम्ग्याखर्क व्यवस्थापन संयुक्त उपसमिति गठन गरि वर्षेनी व्यवस्थापन गरिँदै आएको छ । समितिले यार्सागुम्बाको पुर्जीका लागि टेन्डर आह्वान गरी व्यवस्थापन गर्दै आएको छ । उपसमितिका अध्यक्ष याद घलेका अनुसार टेन्डरमार्फत यसवर्ष ३६ लाख २० हजार रुपैयाँ सम्झौतामा चामेका मेघबहादुर विश्वकर्माले पुर्जी व्यवस्थापन गरेको छ ।

विश्वकर्माका अनुसार गएको वर्ष बैशाख ३ गते पुर्जी खुलाइएको थियो । यसवर्ष हिमपात र आन्तरिक व्यवस्थापनले ढिलाई भएको उहाँले बताउनुभयो । संकलन अवधिभर गएको वर्ष करीब २ सय जनाले यार्सागुम्बा टिपेकोमा यसवर्ष ३ दिनकै अवधिमा ३ सय जनाले पुर्जी लिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सो लेकमा ६ सय भन्दा बढी पठाउन पाईंदैन ।

कुन लेकमा कति पठाउने भनेर कोटा तोकिएको उहाँले बताउनुभयो । करीब ४ हजार ३ सय मिटर उचाइएको नम्ग्या खर्क पुग्न चामेबाट करीब १ देखि २ दिन लाग्छ । नम्ग्यखर्कमा यार्सा टिप्ने स्थानीयका लागि ३ हजार, जिल्लाभित्रका लागि ४ हजार ५ सय र जिल्ला बाहिरका संकलकलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ दस्तुर लिने गरेको विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार यार्सागुम्बा खोज्न धादिङ, गोरखा, लमजुङ लगायत जिल्लाबाट संकलकहरु आएका छन् । 

एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार मनाङका २५ बढी लेकमा यार्सागुम्बा पाइने अनुमान गरिएको छ । साविकको गाविसस्थित संरक्षण समितिले यार्सागुम्बा संकलनको जिम्मा लिएको छ । पुर्जीबाहेक व्यापारीलाई छोडपुर्जीबापत १ किलो बराबर १० हजार रुपैयाँ रोयल्टी लिन्छ । स्थानीय तहले निकाशी करबापत प्रतिकिलो १० हजार रुपैयाँ लिन्छ ।

व्यवसायीले सरकारलाई प्रतिकिलो ३० हजार रुपैयाँ राजस्व बुझाउनुपर्छ । सबैभन्दा पछि नार र फुको लेकमा असारको पहिलो सातादेखि पुर्जी काटेर यार्सागुम्बा खोजिन्छ । बाहिरी जिल्लाकालाई प्रतिवन्ध लगाएको सो ठाउँमा स्थानीयलाई प्रतिव्यक्ति ३५ हजार रुपैयाँ तोकिएको छ । एक्यापका अनुसार मनाङमा गतवर्ष १ सय २९ किलो यार्सागुम्बाको छोडपुर्जी दिइएको थियो । एक किलोको ११ लाख देखि १६ लाख रुपैयाँ सम्म बिक्री गरिएको व्यापारीले बताएका छन् । धेरै समय हिमपात भएकाले यसपटक यार्सागुम्बा बढी भेटिन सक्ने एक्याप प्रमुख तिरुवाले बताउनुभयो । 

यार्सा टिप्न कडाई

यार्सागुम्बा संकलन गर्ने क्षेत्रमा मादक पदार्थ (रक्सीजन्य पदार्थ) सेवन गर्न, जुवातास खेल्न, वादविवाद तथा झगडा गर्न प्रतिबन्ध लगाइएको छ । ‘विगतका वर्षमा रक्सी खाने, रक्सीसँग यार्सागुम्बा साट्ने, यर्सागुम्बा बाजी राखेर जुवातास खेल्ने प्रवृत्ति देखियो । यसले वादविवाद र झगडा निस्कियो । यसलाई प्रतिबन्ध लगाएका छौं’ नम्ग्यखर्क व्यवस्थापन उपसमितिका अध्यक्ष याद घलेले भन्नुभयो । यस्तै, काँचो दाउरा संकलन, डढेलो लगाउन तथा वन्यजन्तुको शिकार गर्न पनि रोक लगाएको उहाँले बताउनुभयो । 

समितिका सचिव अपिल लामाका अनुसार बिना पुर्जी यार्सागुम्बा संकलन गरेको पाइएमा जफत गरेर जरिवाना गरिनेछ ।

बिनापुर्जी यार्सागुम्बा संकलन गरेको पाइएमा स्थानीयलाई ७ हजार र तत्कालीन ताचैबगरछाप, नार र चामे गाविस बाहेककालाई २५ हजार रुपैयाँ जरिवाना गर्ने र यार्सागुम्बा पनि जफत गरिने निर्णय भएको छ । उहाँका अनुसार संकलकको नागरिकताको फोटोकपी, एउटा फोटो राखेर पुर्जी दिने गरिएको छ । उनीहरुलाई फोटो सहितको परिचयपत्र, पुर्जी वितरण गरिएको छ । उहाँले भन्नुभयो, ‘हामी अनुगमनमा जाँदा परिचयपत्र र पुर्जी साथमा हुनुपर्छ । नत्र चोरीनिकासी गर्न लागेको ठहर्छ ।’ यार्सागुम्बा संकलन गर्ने ठाउँमा कुनै प्रकारका हातहतियार पनि लान पनि बन्देज लगाएको उहाँले बताउनुभयो । 

सुरक्षा व्यवस्था कडा

मनाङको नारस्थित लेकमा २०६६ जेठमा ७ जना गोरखालीको हत्या भएपछि यार्सागुम्बा संकलन गर्ने सिजनमा अन्य समयमा भन्दा सुरक्षा सतर्कता बढाइने गरिएको छ । स्थानीय प्रशासन, स्थानीय तह, एक्याप, संरक्षण क्षेत्र व्यवस्थापन समितिसहित बसेको संयुक्त बैठकले यार्सागुम्बा संकलनस्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको डीएसपी खड्कबहादुर खत्रीले बताउनुभयो ।

यार्सागुम्बा संकलन तथा निकासीको समयमा केही वर्षअघि अत्याधुनिक हतियारसहित मानिस भेटिएको थियो । सुरक्षा स्रोतका अनुसार यार्सागुम्बा संकलनका बेला घटना, दुर्घटना हुने र हतियारको त्रास देखाउन सक्ने भन्दै सुरक्षा सतर्कता बढाएको हो । नम्ग्यखर्कमा यार्सागुम्बा टिप्न जानेलाई प्रहरीले नार र फू जाने बाटोको पूलमा क्युपार सीमा प्रहरी चौकीबाट खटिएका प्रहरीले खानतसाली गर्दै पठाउने गरिएको छ ।


प्रतिक्रिया