जेठ ३ गतेभित्रै नेकपाको एकीकरण प्रक्रिया टुंगो लाग्ने

वैशाख २३, २०७६ | काठमाडौं

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले एकीकरणको एक वर्ष पुगेको दिन जेठ ३ गतेभित्रै एकीकरणको सम्पूर्ण प्रक्रिया टुंगो लगाउने दाबी गरेको छ । ठूला दुई पार्टीबीचको एकतापछि भागबण्डा, शीर्ष नेताहरुबीच देखिएको गुटबन्दी, नेता तथा कार्यकर्ता व्यवस्थापन, जिम्मेवारी लगायत कारण एक वर्ष हुँदा समेत पूर्णता पाउन सकेको छैन । 

पार्टीको पोलिटब्युरो गठन हुनै बाँकी छ भने केन्द्रीय सदस्यको जिम्मेवारी  र जनवर्गीय संगठनको एकतामा सहमति हुन सकेको छैन । एकताका लागि बाँकी सबै कामको टुंगो  लगाउन सम्पूर्ण काम एकसाथ भइरहेको नेकपा स्रोतको भनाई छ । १ सय ४७ सदस्सीय पोलिटब्युरो बनाउने सहमति भएपनि त्यसमा भागबण्डा मिल्न बाँकी छ । 

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरुको जिम्मेवारीका लागि शीर्ष तहमा छलफल भईरहेको छ । जेठ ३ गते ऐतिहासिक दिनको अवसर पारेर पार्टी एकतासँगै नेताहरुको जिम्मेवारीका सम्पूर्ण काम सक्ने गरी तयारी भईरहेको नेता नेम्बाङले बताउनुभयो ।

९ सदस्सीय सचिवालय यसअघिनै बनाईसकेको नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय हुने सहमति छ । नेकपाको स्थायी समिति भने ४५ सदस्सीय छ । जनवर्गीय संगठनको नेतृत्वमा समेत भागबण्डा मिलेकाले चाँडै टुंगो लाग्ने नेकपाको विश्वास छ । 

नेता नेम्बाङले भन्नुभयो, 'त्यसका लागि शीर्ष तहमा लगातार छलफल चलिरहेको छ । सम्पूर्ण बिषय केहि दिनमै टुंगो लाग्छ ।'

३ गते त्यसको औपचारिक घोषणा हुनेछ । पार्टी एकताको लामो समयसम्म पनि नेताहरु जिम्मेबारबिहीन रहेको भन्दै पछिल्लो समय पार्टी नेतृत्वको तीब्र आलोचना हुँदै आएको छ । एकता प्रक्रिया लम्बिँदा पार्टीको जनबर्गीय संठगनपनि छुट्टा छुट्टै अस्तित्वमा रहँदै आएका छन् ।      


प्रतिक्रिया