लामो समयदेखि बन्द झापाका चिया बगान आजबाट सञ्चालन हुँदै

वैशाख ३१, २०७६ | बिर्तामोड

उद्योगीहरु श्रम ऐन कार्यान्वयन गर्न सहमत भएपछि चिया मजदुरहरुको आन्दोलन फिर्ता भएको छ । सोमबार विर्तामोडमा उद्योगी र ट्रेड यूनियनहरुबीचको वार्तामा ३ बुँदे सहमति जुटेपछि आन्दोलन फिर्ता भएको हो । 

वार्तामा श्रम ऐन ०७४, श्रम नियमावली ०७५ र सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयन गर्ने, राजपत्रमा प्रकाशित भएअनुसार मजदुरलाई ०७५ साउन १ देखि नै दैनिक ज्याला ३ सय ८५ रुपैयाँ दिने र आन्दोलनको अवधिमध्ये मजदुरलाई ११ दिनको पारिश्रमिक भुक्तानी गर्ने सहमति जुटेको हो ।

सहमतिपछि मंगलबारदेखि झापाका सबै चिया बगानमा काम सुरु हुने भएको छ । चैत १७ देखि चिया मजदुरले थालेको अनिश्चितकालीन आन्दोलन ४४ औं दिनमा सहमति जुटेको हो ।

‘लगातारको छलफलपछि सहमति जुटाउन सफल भयौं’ नेपाल चिया उत्पादक संघका संस्थापक अध्यक्ष एवं उद्योगी छत्र गिरीले भन्नुभयो, ‘मंगलबारदेखि जिल्लाका सबै चिया बगानमा काम सुरु हुन्छ ।’

उद्योगीहरु श्रम ऐन कार्यान्वयन गर्न सहमत भएकाले आन्दोलन फिर्ता लिएको अखिल नेपाल चिया मजदुर संघकी केन्द्रीय अध्यक्ष सीता सापकोटाले जानकारी दिनुभयो ।

नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले भन्नुभयो, ‘९ महिनाको अटेरीपछि उद्योगीहरुलाई श्रम ऐन कार्यान्वयन गराउने सहमतिमा ल्याउन सफल भयौं । चिया मजदुरका लागि यो सहमति अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो’ 

यो सहमतिबाट पूर्वका ५० हजार बढी चिया मजदुर प्रत्यक्ष लाभान्वित हुने उनको दाबी छ । ऐन कार्यान्वयन हुने भएपछि चिया मजदुरहरुले प्रति घण्टा आधारभूत पारिश्रमिक ३१ रुपैयाँ र महँगी भत्ता २० रुपैयाँ गरी ५१ रुपैयाँ, दैनिक ज्याला २ सय ३१ र महँगी भत्ता एक सय ५४ रुपैयाँ गरी ३ सय ८५ रुपैयाँ पाउँदै आएका थिए । 

मासिक ज्याला ६ हजार ४ सय ६९ र महँगी भत्ता ४ हजार ३ सय १२ गरी १० हजार ७ सय ८१ रुपैयाँ तथा चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारले दैनिक भत्ता ४२ रुपैयाँ पाउने भएका छन् । यसअघि चिया मजदुरले दैनिक ज्याला २ सय ७८ रुपैयाँ मात्रै पाउँदै आएका थिए । 


प्रतिक्रिया