सहिद भीमनारायण गोल्डकपको उपाधि एपीएफलाई

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ४, २०७६ | धनकुटा

धनकुटामा जारी १४ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि विभागीय टिम एपीएफले हात पारेको छ । धनकुटाको तल्लो टुँडिखेलमा भएको दाउफिन्स फुटबल क्लब क्यामरुन र एपीएफबीचको फाइनल खेलमा एपीएफले ट्राइब्रेकरमा ३–२ गोल अन्तरमा उपाधि कब्जा गरेको हो ।

दुवै टिमबाट निर्धारित ९० मिनेटको अवधिमा समान २ गोल भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । पहिलो प्रहार दाउफिन्सका एन्जामा योन्नीकले गरेको बल गोलपोष्ट नजिकबाट बाहिरिएपछि दबाबमा परेको थियो । दाउफिन्सका लागि पेटेङ्गा, गोलकिपर परिसो र यान्निक ओवानाले एक/एक गोल गरे । यस्तै, एपीएफका रवि थिङ र हरि कार्कीले समान एक/एक गोल गर्न गरे ।

यस अघि निर्धारित अवधिको दाउफिन्स पेटङगाले २३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । तर, केहि बेरपछि नै ओको वोटाले एपीएफको डिएरियामा फल गरेपछि पेनाल्टीको मौकालाई सदुपयोग गर्दै एपीएफका रबि थिङले गोल गर्दै खेल बराबरी बनाए । दाउफिन्सका यान्निक ओवानाले गोल गर्दै आफ्नो टिमलाई २ - १ को अन्तरमा फराकिलो बनाउन सफल भए । 

ट्राइब्रेकरको आधारमा विजेता र उपविजेताको छिनोफानो गरिएको थियो । विजेता टिम ऐपीएफले ४ लाख नगद सहित भीमनारायण गोल्डकप हात पारेको छ भने उपविजेतामा दाउफिन्सले २ लाख नगद र ट्रफिमा चित्त बुझाएको छ ।

प्रतियोगिताको म्यानअफ दी टुर्नामेन्ट एपीएफका रबि थिङ घोषित भए । उनले २० हजार नगद सहित मेडल प्राप्त गरे । यस्तै, वेष्ट डिफेन्स एपीएफका सरोज कोइराला, वेष्ट गोल किपर अमृत चौधरी र वेष्ट कोच सोभित श्रेष्ठ घोषित भए । वेष्ट फरवार्ड दाउफिन्सका यानिक घोषित भएका छन् ।

विजेता खेलाडी तथा टिमलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, प्रदेश सांसद लीला सुब्बा लगायतले पुरस्कार तथा ट्रफि प्रदान गरेका थिए ।

सहिद भीमनारायण श्रेष्ठको नाममा २०५५ सालमा स्थापना गरिएको प्रतियोगिता केहि वर्ष स्थगित भएपनि २०६३ यता नियमित हुँदै आएको संस्थापक राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए । 


प्रतिक्रिया