पेट्रोलको मूल्य २ रुपैयाँ घट्यो

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ४, २०७६ | काठमाडौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य घटाएको हो ।

मूल्य घटेसँगै पेट्रोलको भाउ प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इन्डियन आयल कर्पोरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मुल्य घटाइएको हो । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

हाल  कच्चा तेलको मूल्य अस्थिर भएको कारणले गर्दा आगामी दिनमा प्राप्त हुने नयाँ मूल्य र स्वचालित मूल्य प्रणालीको संयन्त्र बमोजिम नै मूल्य समायोजन गर्दै जाने निगमले जनाएको छ ।

मूल्य समायोजन पश्चात भारतको रक्सौल भन्दा नेपालको वीरगञ्ज सीमामा पेट्रोल प्रति लिटर १५ रुपैयाँ ६७ पैसा र डिजेल प्रति लिटर १६ रुपैयाँ ६४ पैसा सस्तो भएको छ ।  


प्रतिक्रिया