अन्तरदेशीय प्रशारण लाइनको सम्भाव्यता अध्ययन अन्तिम चरणमा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ४, २०७६ | रसुवा

- गल्छी–रसुवागढी–केरुङ जोडने ४ सय केभी क्षमताको अन्तरदेशीय प्रशारण लाइनको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । सम्भाव्यता अध्ययन अर्न्तगत टावर सङ्ख्या, टावर राखिने स्थान, खोला क्षेत्र, निकुञ्ज क्षेत्र लगायतको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्रधिकरण अर्न्तगतको आयोजना विकास विभागले जनाएको छ ।

अहिले टावर स्पोटिङ र सवस्टेसनको डिजाइन गर्ने काम सुरु भएको आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताउनुभयो । असार १२ गते सम्म सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन आइसक्ने उहाँले बताउनुभयो । सम्भाव्यता अध्ययन सकिएपछि चीनको स्टेट ग्रिड अफ कर्पोरेट चाइना र नेपाल विद्युत प्राधिरणले संयुक्त रूपमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सहमति भएको छ ।

प्रशारण लाइनको केही भाग लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्ने भएकाले निर्माण अघि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम पनि अघि बढाइएको आयोजनाले जनाएको छ । 
नुवाकोटको रातमाटेदेखि, रसुवागढीसम्म प्रशारण लाइनको दूरी ७० किलोमिटर रहेको छ । प्रशारण लाइनको नेपालतर्फ ४ सय केभी र तिब्बत तर्फ ५ सय केभीको प्रशारण लाइन निर्माण हुने आयोजनाले जनाएको छ । केरुङबाट काठमाडौंसम्म विद्युतीय रेल निर्माण हुने भएकाले यो प्रशारण लाईनको विद्युत रेलमार्गमा पनि प्रयोग हुने आयोजनाका प्रमुख आत्रेयको भनाई छ । निर्माण सुरु भएको ६ वर्षभित्र अन्तरदेशीय प्रशारण लाइनको काम  सक्ने लक्ष्य राखिएको छ । 
 


प्रतिक्रिया