नेकपाको सचिवालय बैठक बस्दै

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ५, २०७६ | काठमाडौं

नेकपाको सचिवालय बैठक बस्दैछ । तात्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको एक वर्ष पूरा भएपनि एकीकरणका सम्पूर्ण काम नसकिएपछि नेकपाले बैठकलाई तीब्रता दिएको हो । गत बिहीबार बसेको सचिवालय बैठकले २१ वटा भ्रातृ संगठनको नेतृत्व टुंगो लगाएको थियो ।

काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ११ बजेपछि बस्ने बैठकमा पोलिटब्युरो गठन, नेताहरुको जिम्मेवारी बाँडफाँट, सल्लाहकार परिषद् तथा विभिन्न आयोग गठन लगायत विषयमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

नेकपाले यही जेठ मसान्त भित्र एकीकरणका बाँकी सबै काम सम्पन्न गर्ने र गाउँगाउँसम्म एकताको सन्देश पुर्‍याउन प्रचारात्मक अभियान थाल्ने तयारी गरेको छ । यस्तै बैठकमा केन्द्रीय कमिटी र स्थायी समितिलाई पनि सक्रिय बनाउने बारे छलफलको तयारी सचिवालयको छ । 

आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे समेत कुराकानी हुनेछ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउन यो बेला सरकारले तयारी तीब्र पारेको छ । नेकपा सरकारले दोस्रो आर्थिक वर्षका लागि बजेट ल्याउन लागेकाले विगतका कमजोरी सच्याउँदै जनमुखी बजेट आवश्यक रहेको नेता खनालको भनाई छ ।  


प्रतिक्रिया