नेकपाले निकट पत्रकारसंग विधेयकका बारेमा छलफल गर्यो

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ५, २०७६ | काठमाडौं

– नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी निकट पत्रकारलाई बोलाएर मिडिया काउन्सिल सम्बन्धी विधेयकमाथि छलफल गरेको छ । पत्रकार महासंघ विधेयकका केही बुँदामा असन्तुष्टी जनाउँदै आन्दोलनमा रहेका बेला सत्तारुढ दलका नेताले पार्टी निकट पत्रकारसंग छलफल गरेका हुन् । छलफलमा पार्टीका तर्फबाट उपनेता सुवासचन्द्र नेम्वाङ, पम्फा भुषाल, योगेश भट्टराई उपस्थित थिए भने केही पत्रकारको मात्र उपस्थिति रहेको थियो ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आफुलाई छलफलका बारेमा केही जानकारी नभएको बताउनुभयो । प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेतले स्वास्थ्य अवस्थाका कारण आफू छलफलमा उपस्थित हुन नसकेको बताउनुभयो । छलफलका क्रममा संगठनका केन्द्रीय नेता महेश्वर दाहालको भने उपस्थिति रहेको थियो । 

महासंघका अध्यक्ष गोविन्द आचार्यले आफू महासंघको अध्यक्षका रुपमा मात्र रहेको उल्लेख गर्नुभयो । उहा“ले सरकारले विधेयक नसच्याएसम्म महासंघले आन्दोलन फिर्ता नलिने समेत बताउनुभयो । 

उता, प्रेस यूनियन मोरङका पत्रकारहरुले आज जिल्ला प्रशासन कार्यालय मोरङमा रोएर सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको बिरोध गरेका छन् ।

पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना दिदै पत्रकारहरुले रोएर मिडिया काउन्सिल बिधेयक फिर्ता लिन माग गरे । डाको छाडेर रुदै पत्रकारहरुले, पत्रकारलार्ई थुन्नु नै पर्छ भन्ने उद्धेश्यले अभिप्रेरित भएर सरकारले ल्याएको विधेयक फिर्ता लिन माग गरेका थिए । 


प्रतिक्रिया