शोधानान्तर स्थिति करिब ६५ अर्बले घाटामा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ५, २०७६ | काठमाडौं

- चालु आर्थिक वर्षको नौ महिनामा मुलुकको शोधानान्तर स्थिति ६४ अर्ब ६८ करोड रुपैयाँले घाटामा पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० अर्ब ८ करोड रुपैयाँले बढी हो । गत वर्ष मुलुकको शोधानान्तर स्थिति १४ अर्ब ६० करोडले घाटामा थियो ।

राष्ट्र बैंकको तथ्याङक अनुसार पेट्रोलियम पदार्थ, तयारी पोशाक, मेसिनरी सामाग्रीको उच्च आयातसँगै चैत मसान्तसम्म मुलुकको व्यापार घाटा करिब २२ प्रतिशतले बृद्धि भएर ९ खर्ब ९१ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

भारत लगायतका मुलुकबाट १० अर्ब ६१ अर्ब ६३ करोड रुपैयाँको आयात हुदा मुलुकबाट जम्मा ६९ अर्ब ८२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यद्यपी कुल वस्तु निर्यात भने करिब १७ प्रतिशतले बृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।

अर्थतन्तका अधिकांश सूचक नकरात्मक देखिदा रेमिट्यान्समा भने उल्लेख्य बृद्धि भएको छ । चैत मसान्तसम्म करिब २१ प्रतिशतले बढेर ७ खर्ब ४६ अर्ब ४ करोड रेमिट्यान्स मुलुक भित्रिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । 

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपाली संख्या भने करिब ४० प्रतिशतले घटेको छ । यस्तै नौ महिनाको औसत मुल्यबृद्धिदर ४ दशमलव २ प्रतिशत कायम रहेको पनि केन्द्रीय बैंकले जनाएको छ ।

चैत महिनामा खाद्य तथा पेय पदार्थको मुल्यबृद्धिदर २ दशमलव ८ र तरकारीको  ४ दशमलव ४ प्रतिशत कायम रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । यद्यपी पछिल्ला केही दिनयता भने तरकारी लगायत खाद्यन्नको मुल्य आकासिएको छ । 

 


प्रतिक्रिया