अप्टिकल फाइबर बिछ्याउने काम सुरु हुँदै

जेष्ठ ६, २०७६ | काठमाडौं

पाँचथरको चियो भञ्ज्याङ देखि बैतडीको झुलाघाटसम्म २१ सय ७९ किलोमिटर लामो अप्टिकल फाइबर बिछ्याउने काम आज सुरु हुँदैछ । पहिलो खण्ड अन्तरगत मध्यपहाडी लोकमार्ग अन्तर्गत चियो भञ्ज्याङदेखि गोरखाको आरुघाट खण्डको निर्माण कार्यको आज सुरुवात हुन लागेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेको साढे दुई वर्षपछि नेपाल टेलिकमले मध्यपहाडी लोकमार्ग अन्तर्गत प्रदेश १ देखि ३ सम्म अप्टिकल फाइबर बिछ्याउ लागेको हो । धादिङ, सिन्धुली र धनकुटाबाट एकैसाथ फाइबर विस्तारको काम सुरु हुने टेलिकमले जनाएको छ ।

धादिङबाट सुरु हुने कामको प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो एक बजे शुभारम्भ गर्नुहुने कार्यक्रम छ । टेलिकमले मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको चियो भञ्ज्याङदेखि गोरखा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर विस्तार गर्नेछ । यसका लागि टेलिकमले विभिन्न ५ वटा कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ ।

प्रदेश १ मा ५ सय ९६ किलोमिटर अप्टिकल फाइबर बिछ्याउन टेलिकमले कोरियाली कम्पनी एलएस कबल्ससँग ठेक्का सम्झौता गरिसकेको छ । प्रदेश २ मा १ हजार २८ किलोमिटर फाइबर विस्तारका लागि आराग्य कन्स्ट्रकसन नेपाल, चाइना रेल र चाइना फ्युलको जोइन्ट भेन्चरसँग सम्झाता गरेको छ ।

यस्तै, प्रदेश ३ मा ४ सय ५५ किलोमिटरमा फाइबर बिछ्याउन हङकङको चाइना कम्युनिकेसन सर्भिस इन्टरनेशनल सीसीइसआई सँग सम्झौता गरेको टेलिकमले जनाएको छ । फाइबर विस्तारका क्रममा आवश्यक पर्ने उपकरणका लागि सीसीएसआई र सिंगापुरको सीटीएस कम्युनिकेशनसँग सम्झौता भएको छ ।

दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा जम्मा भएको रकम परिचालन गरी अप्टिकल फाइ बर विस्तकार लागि टेलिकमलाई २०७३ असोज १२ गते जिम्मा दिएको थियो । दुई वर्षमा फाइबर बिछ्याउने काम सम्पन्न गर्ने लक्ष्य भएपनि ढिलो गरी काम भएको हो । यो काम सम्पन्न भएपछि तीन प्रदेशका ३२ जिल्ला सदरमुकाम र स्थानीय तह अप्टिकल फाइबर सञ्जालमा जोदिने टेलिकमले जनाएको छ । 


प्रतिक्रिया