महत्वपूर्ण विधेयक संसदमा प्रक्रियामा लैजाने सरकारको तयारी

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ६, २०७६ | काठमाडौं

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनु अघि नै सरकारले आज एकै दिन विभिन्न ९ वटा विधेयक प्रक्रियामा लैजाने भएको छ । ८ वटा विधेयक प्रतिनिधि सभा र एउटा राष्ट्रिय सभामा आज टेबुल गर्ने तयारी सरकारको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ गते बजेट सार्वजनिक गर्ने भएपछि सो अगावै केही महत्वपूर्ण विधेयक संसदमा प्रक्रियामा लैजाने सरकारको तयारी हो ।

जेठ १५ पछि प्रतिनिधि सभाका बैठकहरु बजेटमाथिको छलफलमा केन्द्रित हुने भएकाले सो अगावै ती विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईने संघीय संसद सचिवालयले जनाएको छ । यसका लागि प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाईएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास सम्बन्धी विधेयक र राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक प्रतिनिधि सभाको आजको बैठकमा टेबुल गर्नुहुने कार्यसूची छ । यद्यपि प्रधानमन्क्री ओली धादिङ जाने कार्यत्रम रहेपछि सरकारका तर्फबाट कसैले विधेयक टेबुल गर्नुहुने सम्भावना छ । 

यस्तै, बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रहरी समायोजन विधेयक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक र औद्योगिक व्यवसाय विधेयक, वन तथा वातावरण मन्क्री शत्तिबहादुर बस्नेतले वन विधेयक र वातावरण संरक्षण विधेयक संसदमा प्रस्तुत गर्नुहुनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भूमि सम्बन्धी आठौं संशोधन विधेयक संसदमा टेबुल गर्ने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । 

आजैको बैठकमा प्रधानमन्त्री ओलीले महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदन, अघिल्लो आर्थिक वर्षको सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको अघिल्लो आर्थिक वर्षको प्रतिवेदन पेस गर्नुहुनेछ ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले आगामी आर्थिक वर्षको पूर्ण बजेटमाथि मुलुकभरबाट प्राप्त सुझाव सहितको प्रतिवेदन र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

आजै राष्ट्रिय सभाको बैठक पनि बस्नेछ । दिउँसो एक बजेका लागि बोलाईएको बैठकले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकलाई दफावार छलफलका लागि विधायन समितिमा पठाउने छ भने कानुन मन्त्री भानुभक्त ढकालले प्रमाण देस्रो संशोधन विधेयक टेबुल गर्नुहुनेछ । 


प्रतिक्रिया