संसद बैठकमा दैनिक अवरोध गर्ने राजपाको चेतावनी

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ६, २०७६ | काठमाडौं

 - राष्ट्रिय जनता पार्टी राजपाले पटक पटक उठाएका माग सम्वोधन नभए संसद बैठकमा दैनिक अवरोध गर्ने चेतावनी दिएको छ । प्रतिनिधि सभाको आजको बैठको सुरुमा नै समय लिएर राजपाले आफ्ना माग सम्वोधन गराउन सरकारको पुन ध्यानाकर्षण गराएको हो । राजपाकी सांसद चन्दा चौधरीले पूर्व न्यायाधीश गिरिसचन्द्र लालको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पुनः माग गर्नुभयो ।

उहाँले संसद अवरुद्ध गर्ने आफुहरुको कुनै मानसकिता नभए पनि सबै समूदायले न्याय पाउनुपर्ने माग सम्वोधनका लागि सदन अवरुद्ध गर्न बाध्य हुने बताउनुभयो । लाल आयोगको प्रतिवेदन प्रतिवेदन सार्वजनिक नहुँदा कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद रेशम चौधरी लगायत निर्दोष व्यक्तिलाई मुद्धा लगाइएको उहाँले आरोप लगाउनुभयो ।

मधेश आन्दोलन र थारु आन्दोलनका क्रममा धेरै निर्दोषलाई मुद्धा लगाइएकाले तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी निर्दोषको मुद्दा फिर्ता लिन उहाँले आग्रह समेत गर्नुभयो । यस्तै संविधान संसाधेनका विषयमा सरकारसँग धेरै पटक छलफल भएपनि अहिलेसम्म प्रक्रिया सुरु नभएकाले सो विषयमा पनि सरकारले सदनलाई जानकारी गराउनुपर्ने सांसद चौधरीको माग थियो ।

राजपाले उठाएको विषयमा सभामुख कृष्ण बहादुर महराले आफ्नो ध्यानाकर्षण भएको भन्दै केही समय पछि सरकारले ढिला हुनुको कारण सहित  जवाफ  दिने बताउनुभयो । 


प्रतिक्रिया