पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या

जेष्ठ ७, २०७६ | पाँचथर

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा २ परिवारका ९ जनाको विभत्स हत्या भएको छ । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।

हत्यामा स्थानीय मनकुमार फागो संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । छिमेकी उनले पारिवारिक रिसिबीका कारण ९ जनाको हत्या गरेको प्रहरीको भनाई छ । उनको खोजी भइरहेको छ । घटनामा अन्यको समेत संलग्नता रहे नरहेको बारे अनुसन्धानपछि मात्र थाहा लाग्ने प्रहरीको भनाई छ । 

प्रहरीले जिल्लामा नाकाबन्दी गरेर अभियुक्तको खोजी थालेको छ । घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वमा एक नम्बर प्रदेश प्रहरी कार्यालयले एसएसपी शरद खत्री नेतृत्वमा अनुसन्धान टोली घटनास्थल तर्फ पठाएको छ । जिल्लाका सम्पुर्ण नाका बन्द गरेर अभियुक्तको खोजिकार्य शुरु गरिएको एक नम्बर प्रदेश प्रमुख डीआईजी केदार रिजालले जानकारी दिनुभयो । प्रहरीले घटनास्थल सिल गरेको छ । 

हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम पहिचान नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेको घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । उनले मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बताईन् ।

इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थललाई घेरा गरी अनुसन्धान थालेको घटनास्थलमा रहेका सहकर्मी लक्ष्मी गौतमले जनाएका छन् । 


प्रतिक्रिया