जुट मिललाई संग्रहालय बनाउने पहल

जेष्ठ ७, २०७६ | विराटनगर

पटक पटक सञ्चालन हुँदै बन्द हुने गरेको मुलुककै जेठो विराटनगर जुट मिललाई राजनीतिक एवं औद्योगिक संग्रहालय बनाउने पहल सुरु गरिएको छ । यसका लागि प्रदेश १ सरकारले सरोकारवालाहरुसित सुझाव संकलन गर्न थालेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सम्भाव्यता अध्ययन कार्यदल बनाएर यसबारे अध्ययन सुरु गरेको हो । विराटनगर जुट मिल ऐतिहासिक राजनीतिक एवं औद्योगिक महत्व बोकेकाले यसको इतिहास मेटिन नदिन संग्रहालय बनाउनु पर्ने सुझाव कार्यदललाई सरोकारवालाले दिएका छन् ।

विक्रम सम्वत १९९३ मा स्थापित सो उद्योग मुलुककै अग्रणी उद्योगमात्र नभइ औद्योगिक जागरणको प्रतीकका रुपमा रहेको छ । सो उद्योग खुलेपछि सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा उद्योगहरु स्थापना र विस्तार भएका हुन् ।

२००३ सालमा पहिलो मजदुर हडताल सोही उद्योग परिसरमा भएको थियो । त्यसैले औद्योगिक र ऐतिहासिक महत्वका कारण उद्योगलाई संग्रहालयका रुपमा विकास गर्न आवाज उठ्दै आएको छ ।


प्रतिक्रिया