प्रतिनिधिसभा बैठक बस्दै

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ८, २०७६ | काठमाडौं

सरकारले अघिल्लो अधिवेशनमा प्रस्तुत गरेको तीन सहित ७ वटा विधेयक प्रतिनिधि सभाको आजको बैठकबाट थप प्रक्रियामा लैजाँदैछ । समय अभावका कारण तेस्रो अधिवेशनबाट पारित हुन नसकेका जेष्ठ नागरिक पहिलो संशोधन, नागरिक लगानी कोष दोस्रो संशोधन र विज्ञापन नियमन गर्ने विधेयक चौंथो अधिवेशनको १३ औं बैठकबाट आज अघि बढ्न लागेको हो ।

दिउँसो एक बजेका लागि बोलाईएको प्रतिनिधि सभाको बैठकमा सम्बन्धित मन्त्रीहरुले ती विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, सरकारले गत सोमबार टेबुल गरेका थप चार वटा विधेयक पनि प्रक्रियामा लैजानेछ ।

प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गर्नुभएको राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन, गृहमन्त्री रामबहादुर थापाले प्रहरी समायोजन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन तथा औद्योगिक व्यवसाय विधेयक टेबुल गर्नुर्भएको थियो ।

ती चारै वटा विधेयकमा सम्बन्धित मन्त्रीले आज विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । सबै विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । सरकारले हिजो मात्र वन विधेयक, वातावरण संरक्षण विधेयक र भूमि सम्बन्धी आठौं संशोधन विधेयकमाथिको प्रक्रिया अगाडि बढाएको थियो । 


प्रतिक्रिया