क्यानको जिल्लागत निर्वाचन जेठमा सकिने 

जेष्ठ ९, २०७६ | काठमाडौं

नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले ग्रीन सिंग्नल दिएसँगै जिल्लागत निर्वाचनको प्रक्रियाले पनि गति लिएको छ । विवादित १९ जिल्लामध्ये अधिकांशले सदस्यता नवीकरणका लागि १५ दिने सूचना जारी गरेका छन् ।

स्वतन्त्र कमिटीले १२ जिल्लामा नयाँ र बाँकी ७ जिल्लामा पुरानै विधान अनुसार निर्वाचन हुनेछ । पछिल्लो पटक ३ जिल्ला निर्वाचन प्रक्रियामा गईसकेका छन् । चितवनमा भने निर्वाचन सम्पन्न भएको छ । सदस्यता नवीकरणसँगै रुजु तथा प्रमाणीकरणको काम जेठ तेस्रो साता सम्ममा सम्पन्न हुने र अधिकांश जिल्लामा जेठ भित्रै निर्वाचनको तयारी भएको स्वतन्त्र कमिटी सदस्य रुईस थापाले बताउनुभयो ।

बाँके लगायतका केही जिल्लामा सदस्यता विवाद बल्झिएपछि केही समस्या देखिएको छ । यद्यपि, सो विवादलाई पनि केही दिनमै समाधान गर्ने गरी छलफल र प्रक्रिया अघि बढेको थापाले बताउनुभयो । जिल्लागत निर्वाचन सकिए प्रदेश र केन्द्रको निर्वाचनमा खासै समय नलाग्ने भएकाले जुलाईमा बस्ने आईसीसी बोर्ड बैठकमा प्रतिवेदन पेश गर्न सकिने स्वतन्त्र कमिटीले जनाएको छ । 

अहिलेको अवस्था हेर्दा जुलाई अगावै बाँकी प्रक्रिया सम्पन्न हुने थापाले बताउनुभयो । जिल्लाहरुको निर्वाचन लगत्तै स्वतन्त्र कमिटिको बैठक बस्ने र बैठकले अन्य विषय निर्क्योल गर्ने कमिटीको तयारी छ । नेपाली क्रिकेटको पछिल्लो प्रगतिलाई आईसीसीले पनि नजिकबाट नियालीरहेकाले केही महिनामै सकारात्मक निर्णय आउने थापाको दाबी छ ।   


प्रतिक्रिया